रौतहटको सीमावर्ती क्षेत्रमा प्रहरीले गरेको सवारी जाँचका क्रममा ठूलो परिमाणमा स्रोत नखुलेको नगद रकम फेला परेको छ। बौधिमाई नगरपालिका–७ बंकुलस्थित सडकमा जाँच गर्ने क्रममा एक भारतीय नागरिकको साथबाट १० लाख रुपैयाँ बरामद भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला, घोडासहन गाउँका करिब ३३ वर्षीय टुना दास रहेका छन्।
सोमबार दिउँसो बंकुल प्रहरी चौकीबाट खटिएको टोलीले बंकुल–नरकटिया सडकखण्डमा सवारी साधन जाँच गरिरहेको थियो। सोही क्रममा बाराबाट रौतहटतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एएफ ३७८७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लुकाइएको अवस्थामा नगद रकम फेला परेको हो।
प्रहरीले बरामद गरेको रकममा एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोट रहेका छन्। दुवै दरका नोटको कुल रकम १० लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बरामद रकम कहाँबाट ल्याइएको हो र के प्रयोजनका लागि लगिँदै थियो भन्ने विषयमा स्पष्ट जानकारी नखुलेपछि प्रहरीले रकमसहित दासलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले घटनाबारे पुष्टि गर्दै बरामद नगदको स्रोत पहिचान गर्ने तथा घटनाको थप विवरण खुलाउने प्रयास भइरहेको जानकारी दिएका छन्।


