नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ ।
जितका लागि लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रनमा समेटियाे ।
याे जितपछि ७ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा कायमै रहेको छ । पाँच खेल खेलिसकेको जनकपुरको भने यो तेस्रो हार हो । जनकपुर ४ अंकसहित तालिकाकाे चाैथाे स्थानमा छ ।
साविक विजेतासमेत रहेको लुम्बिनीले यसअघि पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेल वर्षाका कारण रद्द भएपछि चितवन राइनोजसँग अंक बाँडेको थियो भने तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको थियो ।
जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक ३३ रन बनाए । त्यस्तै, सैफ हसनले २८ तथा आदित्य महताले ३० रनमा अविजित रहे । त्रितराज दासले १८ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका डार्सी सर्टले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । त्यस्तै, शेर मल्ल र तिलक भण्डारीले समान २–२ विकेट हात पारे भने रुबेन ट्रम्पेलम्यानले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको थियाे ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१ तथा रुबेन ट्रम्पलम्यानले १५ रनको योगदान दिए ।
बलिङतर्फ जनकपुरका लागि विशाल सुश्लिङ र राहुल यादवले समान २/२ विकेट लिए । त्यस्तै, ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले समान १/१ विकेट हात पारे ।


