२०८३ कार्तिक २०, शुक्रवार ०६:४६

दीपावली र छठ पर्व नजिकिएसँगै मिथिला क्षेत्रमा चाडपर्वको रौनक छाएको छ । पर्वको तयारीस्वरूप महोत्तरीसहित मिथिलाका गाउँ तथा नगरमा घरआँगन सरसफाइ, लिपपोत र रङरोगन गर्ने चटारो बढेको छ ।

पक्की घरदेखि बाँसका चोयाले बारिएका कच्ची घरसम्म विभिन्न रङले सिँगारिँदा बस्तीहरू आकर्षक देखिन थालेका छन् । यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइने दीपावलीको तयारीमा स्थानीयवासी जुटेका छन् । पर्वलाई लक्षित गरी गाउँबस्ती सरसफाइ गर्ने, सडकमा बत्ती जडान गर्ने तथा घर आँगन सजाउने काम तीव्र पारिएको छ । मिथिला क्षेत्रमा दीपावली र छठअघि घर लिपपोत तथा रङरोगन गर्ने पुरानो परम्परा छ । बाँसका चोयाले बनाइएका भित्तादेखि खर र खपडाले छाएका घरसमेत माटो, चुन र विभिन्न रङ प्रयोग गरी चिटिक्क पार्ने गरिन्छ ।

पाका मैथिलका अनुसार घर लिपपोत र रङरोगन गर्नु यी पर्वको स्थापित सांस्कृतिक परम्परा हो । जनकपुरधाम उपमहानगरपालिकाका सामाजिक अभियन्ता सुशील कर्णका अनुसार दशैँदेखि नै घर सरसफाइ र रङरोगनको काम शुरु हुन्छ । ‘दीपावली र छठअघि घर लिपपोत तथा रङरोगन गर्नैपर्ने चलन बसेकाले धेरैजसोले यही समयमा घर सिँगार्ने गर्छन्,’ उनले भने । दीपावली धनधान्यकी देवी लक्ष्मीको आराधना गरिने पर्व भएकाले सफा र उज्यालो घरमा लक्ष्मीको प्रवेश हुने धार्मिक विश्वास छ । यही विश्वासका कारण गरिब तथा विपन्न परिवारले समेत आफ्नो घर टालटुल, लिपपोत र रङरोगन गरेर चिटिक्क पार्ने गरेका छन् ।

नगराईन नगरपालिका वडा नम्बर ५ का राकेश झाले दीपावलीले सबैको घरमा खुसी ल्याउने विश्वास रहेको बताएका छन् । ‘दिवाली पर्वले सबैतिर खुसी छर्ने विश्वास गरिन्छ । यो पर्वमा लक्ष्मीमाता गरिबका घरमा पनि पुग्नुहुन्छ । सरसफाइ र रङरोगन गरिएको उज्यालो घरमा लक्ष्मी प्रवेश गर्नुहुन्छ भन्ने मान्यता छ,’ उनले भने । उनका अनुसार घर लिपपोत र रङरोगन गर्ने क्रममा छरछिमेकका दिदीबहिनीबीच आपसी सहयोग र सहकार्यको परम्परा पनि रहँदै आएको छ । माटो ल्याउनेदेखि घर सिँगार्ने कामसम्म सामूहिक रूपमा गर्दा काम सहज र रमाइलो हुने गरेको उनको भनाइ छ ।

यद्यपि पछिल्ला वर्षमा घर लिपपोत र रङरोगनका लागि छरछिमेकबीच हुने आपसी सहयोग र मेलमिलाप केही घट्दै गएको उनी बताउँछन् । तर, आफ्नो बस्तीमा भने अझै पनि मिलेर काम गर्ने परम्परा कायम रहेको उनको भनाइ छ । चाडपर्वका बेला कसको घर राम्रोसँग लिपपोत र रङरोगन भयो भन्ने विषयमा गृहिणीबीच हुने छलफल, हाँसोठट्टा र सामूहिक काम ग्रामीण महिलाका लागि विशेष सम्झनाका क्षण बन्ने गरेका छन् । मिथिला समाजमा घर सिँगार्ने र लिपपोत गर्ने काम परम्परागत रूपमा महिलाको जिम्मेवारी मानिँदै आएको छ । त्यसैले पुरुषको सहभागिता पनि देखिए तापनि अधिकांश घरमा महिलाले नै यो काम गर्ने गरेका छन् ।

पछिल्लो समय माटोसँगै चुन र विभिन्न रङको प्रयोग बढ्दै गएको छ । दशैँदेखि दीपावलीसम्म घर लिपपोत र रङरोगन गर्ने कामले बस्तीहरू चहकिला बन्न थालेका छन् । दशैँमा लिपपोत गरिसकेका घरमा समेत दीपावलीअघि पुनः सरसफाइ र लिपपोत गर्ने परम्परा छ । दशैँमा खानपानमा मासुको प्रयोग हुने भए पनि दीपावली र छठ सात्त्विक विधि तथा धार्मिक निष्ठासँग मनाइने भएकाले यी पर्वअघि घर शुद्धीकरण र साजसज्जा गर्ने चलन रहेको मैथिल गृहिणी बताउँछन् । यसरी दीपावली र छठको आगमनसँगै मिथिला–मधेशका बस्तीमा घर सिँगार्ने चटारोले अहिले सबै व्यस्त देखिएका छन् । परम्परा, धार्मिक आस्था र सामुदायिक सद् भावको झलक पनि यससंगै देखिन थालेको छ ।

Comment

Related News

Latest News

Trending News