सन् १८१६ को सुगौली सन्धि पश्चात् उत्तरी मिथिला र दक्षिणी मिथिला गरी मिथिला दुई भागमा विभाजित भएको थियो । सन् १३२४ वा १३२५ मा दिल्ली सम्राट गियासुद्दीन तुगलकको सेना सिम्रौनगढमाथि विजय प्राप्त गरेपछि तिरहुत राज्यपतन भएको थियो । सिम्रौनगढस्थित कर्णाटवंशी शासन अन्त्य भएको ३० वर्षपछि सन् १३५३ मा दक्षिणी मिथिलामा ओइनिवारवंशको शासन स्थापना भएको थियो भने ओइनिवारवंशीहरुको शासन सत्ता समाप्त भएको अर्को ३० वर्ष पछि खण्डवला कुलको शासन शुरु भएको थियो ।
सन् १५५६ मा दिल्लीका सम्राट अकबरले खण्डवाल कुलका विद्वान महामहोपाध्याय महेश ठाकुरलाई मिथिला राज्य संचालन गर्ने जिम्मेवारी दिएका थिए । खण्डवला कुलका नरेशहरुलाई हामी दरभंगा महराजको नामले पनि चिन्दछौँ । अचम्म त के पनि छ भने महामहोपाध्याय महेश ठाकुर युद्ध जितेर वा कुनै राजा–महाराजासंग छल गरेर दरभंगा महराज बनेका थिएनन् । आफ्नो काव्यप्रतिभा प्रदर्शन गरेर राजा बनेका थिए । म.म. महेश ठाकुरसंग सम्बन्धित अर्को कथा अझ चाखलाग्दो छ । राजा भएर मिथिला फर्केपछि, यहाँका सामन्तहरु उहाँको घनघोर विरोध गरेका थिए ।
पण्डित कर्ममा लागेका महेश ठाकुरलाई सामन्तहरुले विरोध गरेको मन परेन । उनी दिल्ली गएर, अकबरद्वारा प्रदान गरिएको सनद (राजा बनाएको ताम्रपत्र) फिर्ता गरी पुनः अध्ययन अध्यापनमा तल्लीन हुनु भयो । इतिहासकार डा.वासुदेव लालदासका अनुसार– एक पटक दिल्ली सम्राट अकबर सर्वधर्म सम्मेलन आयोजन गरेका थिए । जसमा सबै धर्मका जानकारहरुलाई निम्तो दिइएको थियो । सम्मेलनमा महेश ठाकुरका शिष्य रघुनन्दन झा पनि सहभागी थिए । रघुनन्दन झाको प्रतिभा देखेर सम्राट अकबर प्रसन्न हुनु भयो । रघुनन्दन झालाई पण्डित राय अर्थात पण्डित राजको उपाधिसहित मिथिला -तिरहुत) सरकारको जमिन्दारी पनि प्रदान गर्नु भयो । तर रघुनन्दन झा उक्त उपाधि स्वयं धारण नगरी अफ्ना गुरु महेश ठाकुरलाई …गुरुदक्षिणाÚ को रुपमा फिर्ता गर्नु भयो । त्यसपछि महेश ठाकुर आफ् ना शीष्य रघुनन्दन झासंग मिलेर मिथिलाको शासन चलाउन थाल्नु भयो ।
मिथिलामा पुनः खण्डवला कुलको शासन स्थापना भयो । सन् १५५६ देखि शुरु भएको खण्डवाला कुलको शासन सन् १९४७ मा भारतमा जमिन्दारी प्रथा उन्मुलन भएसंगै समाप्त भएको थियो । यता उत्तरी मिथिलामा मकवानपुरे सेनवंशी राजाहरुको शासनसत्ता थियो । जनकपुरसहित उत्तरी मिथिला मकवानपुर राज्यको मातहातमा थियो । खण्डवाला कुलको शासन स्थापना पश्चात् त्यहाँका शासकहरुको ध्यान मकवानपुरको स्वामित्वमा रहेको जनकपुरसहितको मैथिली भाषी क्षेत्रतर्फ गयो । किनकी उत्तरी र दक्षिणी मिथिलाको भाषा, साहित्य, कला, संस्कृति एक समान थियो । दुबैतर्फ विहे–वारीको परम्परा पनि थियो । अतः खण्डवाला कूलका शासकहरुको जनकपुर मोह स्वाभाविक थियो ।
यसै क्रममा खण्डवाला कुलका आठौँ नरेश नरपति ठाकुर (सन् १६९०–१७०१) मकवानपुरको स्वामित्वमा रहेको मिथिला भू– भाग आफ्नो अधिनमा लिन दिल्लीका मुगल शासकसंग सहयोग मागेका थिए । मुगलको सहयोगमा मकवानपुर राज्यमाथि आक्रमण पनि गरिएको थियो । युद्धको क्रममा मकवानवुरका राजा शुभसेनलाई नियन्त्रणमा लिएर दरभंगा फौजदार समक्ष प्रस्तुत गरिएको थियो । अन्ततः मकवानपुरका राजाले वार्षिक १२ सय रुपियाँ कर र नजरानाको रुपमा हात्ती दिने सहमति भएको थियो । समझौतापश्चात् शुभसेनलाई मुक्त गरिएको थियो । -स्रोतः दास, बासुदेवलालःमकवानपुरको ऐतिहासिक रुपरेखा, पृष्ठ– १३४)
विभिन्न स्रोत ग्रन्थहरुबाट प्राप्त जानकारी अनुसार, खण्डवाला राजवंश र मकवानपुरका सेन राजवंशबीचको सम्बन्ध शत्रुतापूर्ण थियो । दुबै राज्यबीच सीमा विवाद त छदै थियो, मकवानपुरले बिद्रोही बञ्जारा -केही इतिहासकारहरुले सन्यासी भनेका छन् ।) लाई शरण दिएको विषयमा तनाव झन बढेको थियो । मेरो व्यक्तिगत विचारमा बञ्जारा र सन्यासी दुबै एउटै विद्रोही समूह हो । सन्यासी विद्रोहीहरु भारतीय स्वतन्त्रता संग्रामका समर्थक थिए । त्यसैले अंग्रेजसंगै मुसलमान र खण्डवाला कूलका शासकहरुलाई शत्रु मान्दथे । तत्कालीन इतिहास र साहित्यमा सन्यासी बिद्रोहीको चर्चा छ । बंगलाका सुप्रसिद्ध उपन्यासकार तथा भारतको राष्ट्रिय गीत ‘बंदे मातरम्’ का रचयिता बंकिमचन्द्र चट्टोपाध्यायको बहुचर्चित उपन्यास ‘आनन्द मठ’ यसै कथामाथि आधारित छ ।
सन्यासी समूहलाई ब्रिटिस शासक लुटेरा र बदमाश घोषित गरेका थिए । तर वास्तवमा उनीहरु सन्यासीको भेषमा स्थानीय किसानहरु थिए, जो ब्रिटिस सरकारको लगान नीति र आफ् नो जग्गा खोसेको कारण पीडित र आक्रोशित थिए । पछि आफ्नो अधिकार प्राप्तिका लागि उनीहरु बिद्रोही भएका थिए । यस समूहको मुख्य निशाना अंग्रेज समर्थक राजा रजौटा, भूपति र सरकारी अधिकारीहरु हुन्थे । सन्यासी बिद्रोहीहरुलाई दबाउन दक्षिणी मिथिलाका अंग्रेज परस्त खण्डबाला कुलका राजा, अंग्रेज शासक तथा उत्तरका पृथ्वीनारायण शाहबीच तिकडी बनेको थियो । सन्यासी बिद्रोहीलाई दण्ड दिनका लागि सन् १७७३ मा अभिमानसिंह बस्नेतको कमाण्डमा पृथ्वीनारायण शाहले फौज पठाएका थिए । अंग्रेजको व्यापारिक कोठी लुट्न गएका सन्यासी दललाई अभिमान सिंह नेतृत्वको फौज महोत्तरीमा संहार गरेको उल्लेख बि.डी. जोशी आफ्नो आलेखमा गर्नु भएको छ ।
बीडी जोशीका अनुसार– ३० अक्टोबर, सन् १७७३ मा पटनाका अंग्रेज हाकिम जर्ज भेन्सिटार्ट पृथ्वीनारायणलाई पत्र लेखेर सन्यासी बिद्रोह साम्य पार्न सहयोग मागेका थिए । पृथ्वीनारायण शाह सन् १७७४, जनवरी १४ मा बंगालका गभर्नर वारेन ह्यास्टिङलाई पत्र पठाएका थिए । जसमा भेन्सिटार्टको अनुरोधमा अंग्रेजी कारखाना लुट्न आइरहेका सन्यासीहरुलाई कडा दण्ड दिएको उल्लेख छ । साथै ब्रिटिस सरकार बुद्धिकर्ण रायलाई समातेर विजयपुर कब्जा गर्न सहयोग गरेमा सन्यासी बिद्रोहीहरुलाई बंगाल प्रवेश गर्न नदिइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । -स्रोतःवीडी जोशीः ‘चेतलुङ’अनलाईन .सम्पादक युग पाठक१ माघ २०७८, https://www.chetlung.com/history/58858-1642241240. html ) सीमा तथा सन्यासी बिद्रोहीलाई संरक्षण दिएको कारण खण्डवला कुलका राजा र सेन राजाबीच शत्रुतापूर्ण सम्बन्ध रहेकै बेला खण्डवाला कुलका दशौं महाराज विष्णुसिंह (सन् १७३९-१७४३) राज्यारोहनको चार वर्षपछि (सन् १७४३) मा रामनवमी मेलामा सहभागी हुन्, स– परिवार जनकपुर आएका थिए ।
विष्णुसिंहको सुरक्षार्थ सेनाको एक टुकडी पनि थियो । त्यतिबेला मकवानपुरका राजा थिए– हेमकर्ण सेन (सन् १७३०–१७५९) । विष्णुसिंह जनकपुर आएपछि दुबै राजाका सेनाबीच विवाद भयो । विवाद सशस्त्र संघर्षको रुप लिएको थियो । सन् १७४३ फसली सन् ११५० साल चैत महिनाको शुक्ल नवमी तिथि अर्थात रामनवमीको दिन दुबै देशका सेनाबीच भएको संघर्षमा विष्णुसिंह वीरगति प्राप्त गरेका थिए । मकवानपुरका सेना उनलाई जनकपुरमै हत्या गरेको थियो । राजाकी विधवा रानीहरु सेनासहित दरभंगा फिर्ता जानेबेला बाटोमा पनि दुबै सेनाबीच संघर्ष भएको इतिहासकार हरुले उल्लेख गरेका छन् । भनिन्छ, दरभंगा महाराज विष्णुसिंह मारिए यता खण्डवाला कुलका कुनै पनि सदस्य जानकी मन्दिर दर्शन गर्न आउँदैनन् । यद्यपि जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव दरभंगा महाराजको वंशजहरु पछिल्ला केही वर्षदेखि जानकी दर्शन गर्न आउन थालेका बताउँछन् ।


