नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति कायम गर्नुपर्ने बताउनुभएको छ ।
तिहार, नेपाल सम्वत् ११४७ न्हूदँ तथा छठ पर्वको अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले झूट र विध्वंसप्रति आपत्ति जनाउदै सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति कायम गर्नुपर्ने बताउनुभएको हो ।
उहाले समाजमा झूट बोल्ने, राष्ट्रिय सम्पत्तिमा आगो लगाउने, र लुटपाट गर्ने जस्ता कार्यले विश्वमा नेपाली जातिको बेइज्जत र बदनाम भएको उल्लेख गर्नुभयो ।
उहाले बुद्धको उपदेशबाट चलेको शान्तिको संस्कृतिलाई देशव्यापी बनाउनुपर्ने र घृणा फैलाउने संस्कृतिभन्दा सांस्कृतिक र शैक्षिक ढङ्गले मानिसको मनोभाव सुधार्नुपर्ने कुरामा जोड दिनुभयो ।
उहाले नेपाली जाति गरी खाने र निर्माणकारी जाति भएको उल्लेख गर्दै मौलिक कला संस्कृतिले संस्कृति, मनोभाव र आचरणलाई सकारात्मक बनाउने विश्वास व्यक्त गर्नुभयो ।


