आधुनिकताको बढ्दो प्रभावले गाउँघरका धेरै मौलिक संस्कृति र परम्परा हराउँदै गइरहेका बेला रौतहटको पेटभर्वामा भने पुस्तौँ पुरानो सोहरैया पर्वले आफ्नो सांस्कृतिक विरासतलाई निरन्तरता दिएको छ। फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वामा सोमबार आयोजित पर्वमा दुई सयभन्दा बढी गाईभैँसी सहभागी भए भने हजारौँ स्थानीयवासीले परम्परागत उत्सवको अवलोकन गरे।
‘हियालोलो, हियालोलो’ को सामूहिक आवाज, चौपायाको दौडधुप र दर्शकको उत्साहले पेटभर्वाको वातावरण दिनभर उत्सवमय बनेको थियो। पशुपालनसँग जोडिएको यो पर्व किसानका लागि केवल मनोरञ्जनको अवसर नभई आफ्नो पुर्ख्यौली संस्कृति जोगाउने माध्यमसमेत बनेको छ।
लक्ष्मीपूजाको भोलिपल्ट मनाइने सोहरैयाका लागि किसानहरू बिहानैदेखि तयारीमा जुटेका थिए। आफ्ना गाई, भैँसी तथा गोरुलाई नुहाइधुवाइ गरी सफा गर्ने, सिँगार्ने र नयाँ नथ तथा डोरी लगाएर चौरमा ल्याउने परम्परा यस पर्वको विशेष आकर्षण हो।
गाउँका विभिन्न टोलबाट ल्याइएका चौपायालाई एकै स्थानमा जम्मा गरेपछि सुरु हुन्छ पर्वको मुख्य आकर्षण। स्थानीय चलनअनुसार चौपायाको बीचमा डोरीले बाँधिएको सुँगुरको बच्चालाई घिसार्ने गरिन्छ। सुँगुरको आवाज सुनेर चौपाया दौडिने परम्परालाई स्थानीय भाषामा ‘डाढ बोलाउने’ भनिन्छ। यही दृश्यसँगै सहभागीहरूले ‘हियालोलो’ भन्दै हुटिङ गर्ने गर्छन्।
यसपटक पेटभर्वासहित टेंग्राहा, फतुवा र आसपासका बस्तीबाट समेत किसानहरूले आफ्ना चौपाया ल्याएका थिए। परम्परागत विधिसँगै आयोजना गरिएको कुस्ती प्रतियोगिता र लौरो भाज्ने कार्यक्रमले पर्वको आकर्षण थप बढाएको थियो। दिनभर स्थानीयवासी तथा टाढाटाढाबाट आएका दर्शकको चहलपहल देखिएको थियो।
हराउँदै गएको परम्पराको अन्तिम पहरेदार पेटभर्वा
कुनै समय रौतहटका विभिन्न गाउँमा उत्साहपूर्वक मनाइने सोहरैया पर्व अहिले धेरै ठाउँमा देखिन छाडेको छ। बदलिँदो जीवनशैली, आधुनिकताको प्रभाव र नयाँ पुस्तामा मौलिक संस्कृतिप्रतिको घट्दो चासोका कारण यो पर्व क्रमशः ओझेलमा पर्दै गएको स्थानीय जानकारहरू बताउँछन्।
तर पेटभर्वाका स्थानीयवासीले भने वर्षौँदेखि यसलाई निरन्तरता दिँदै आएका छन्। नयाँ पुस्तालाई समेत सहभागी गराएर परम्परालाई जीवन्त राख्ने प्रयास यहाँ हुँदै आएको छ।
पशुपालक किसानमा यस पर्वप्रति विशेष धार्मिक तथा सांस्कृतिक विश्वास रहेको छ। सोहरैयामा सहभागी गराउँदा गाईभैँसीमा रोगसँग लड्ने क्षमता बढ्ने र पशुधन स्वस्थ रहने जनविश्वास पनि किसानहरूमा पाइन्छ। यही विश्वास र पुर्खाले चलाउँदै आएको परम्पराप्रतिको सम्मानले पर्वलाई निरन्तरता दिइरहेको छ।
स्थानीय सञ्चारकर्मी दीपेन्द्र रजकले सोहरैया पर्वलाई केवल एउटा जात्रा वा मनोरञ्जनको कार्यक्रमका रूपमा मात्र हेर्न नहुने बताए। उनका अनुसार नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न यस्ता पर्वको संरक्षण, प्रचारप्रसार र निरन्तरता आवश्यक छ।
सोहरैयाले किसान र पशुपालनबीचको सम्बन्ध मात्र उजागर गर्दैन, यसले गाउँको सामाजिक एकता, सामूहिक सहभागिता र स्थानीय पहिचानलाई समेत प्रतिनिधित्व गर्छ। आधुनिकताको दौडमा हराउँदै गएको यस्तो मौलिक सम्पदालाई जोगाउने जिम्मेवारी अब स्थानीय समुदायसँगै सम्बन्धित निकायको पनि हो।
पेटभर्वामा वर्षेनी गुञ्जिने ‘हियालोलो’ को आवाजले एउटा स्पष्ट सन्देश दिएको छ—संस्कृति पुस्तौँसम्म हस्तान्तरण गरियो भने मात्रै जीवित रहन्छ।


