२०८३ कार्तिक २६, बिहिवार १०:२७

मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित ऐतिहासिक तथा भिरालो भूगोल रहेको चिसापानी गढी क्षेत्रमा बिहीबार बिहान विद्युतीय (ईभी) माइक्रोबस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक ईभी गाडी बिहान करिब ६:१० बजेको समयमा अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनाको समयमा गाडीमा जम्मा १५ जना सवार थिए, जसमध्ये १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

अत्यन्तै भिरालो र अप्ठ्यारो खोँचमा गाडी खसेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको सुरक्षा निकायले जनाएको छ। घटनालगत्तै सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा विपद् उद्धार टोली परिचालन गरिएको छ।

हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाउने तथा शव संकलन गर्ने कार्यलाई तीव्रता दिइरहेको छ।

Comment

Related News

Latest News

Trending News