२०८३ कार्तिक २८, शनिवार ०७:११

कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेश प्रदेशले खेलाडी छनोट प्रक्रिया सुरु गरेको छ ।

प्रदेशका आठवटै जिल्लाका खेलाडीको सहभागितामा शुक्रबारदेखि प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालनमा आएको हो ।

मधेश खेलकुद परिषद्को दोस्रो वार्षिकोत्सवको अवसर पारेर ‘खेली मधेश, जिती मधेश’ नारासहित प्रतियोगिता आयोजना गरिएको हो ।

छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

मधेश खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुका अनुसार १०औँ राष्ट्रिय खेलकुदमा ३२ विधाका खेल समावेश गरिए पनि मधेश प्रदेशले २९ खेलमा सहभागिता जनाउने तयारी गरेको छ ।

प्रतियोगितामा भलिबल, फुटबल, टेबलटेनिस, खो–खो, ह्यान्डबल, तेक्वान्दो, बास्केटबल, जुडो, ब्याडमिन्टन, भारोत्तोलन, बुद्धिचाल, उसु र हक्कीलगायतका खेल समावेश रहेको उनले जानकारी दिए ।

प्रदेशमा खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले छनोट प्रतियोगिता सञ्चालन गरिएको सदस्यसचिव कानुले बताए ।

उनले सीमित स्रोतसाधन र विभिन्न अभावका बीच परिषद्ले प्रतियोगिता आयोजना गर्नुपरेको उल्लेख गर्दै प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

खेलकुदको बजेट कटौतीप्रति चिन्ता व्यक्त गर्दै उनले खेलाडीको क्षमता विकास र आवश्यक पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्न प्रदेश सरकारसँग आग्रह गरे ।

खेलकुद क्षेत्रमा पर्याप्त लगानी र पूर्वाधार विकास हुन नसके प्रतिभावान् खेलाडी उत्पादन तथा राष्ट्रियस्तरमा मधेश प्रदेशको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा चुनौती थपिने परिषद्को भनाइ छ ।

Comment

Related News

Latest News

Trending News