२०८३ मंसिर १, मंगलवार १३:५३

नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासले ‘उज्यालो भविष्य परियोजना’ अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–११ स्थित सकल भवन कन्या माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक तथा आवश्यक सामग्री सहयोग गरेको छ।

चिनियाँ दूतावासको ‘उज्यालो भविष्य परियोजना’(Enlightening the Future Project) अन्तर्गत चिनियाँ दूतावासका युवा अग्रदूतहरूको सहआयोजनामा सोमबार आयोजित विशेष कार्यक्रममा उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि मधेशी आयोगका प्रथम अध्यक्ष डा विजयकुमार दत्त रहनुभएको थियो भने चिनियाँ दूतावासका तर्फबाट राजनीतिक तथा प्रेस विभागका निर्देशक यु पेङचेङको उपस्थिति रहेको थियो।

विद्यालयका आठवटा कक्षाकोठाका लागि आवश्यक पर्ने डेस्क–बेन्च, एक थान वासिङ मेसिन, ७०० थान विद्यालय झोला, कापी, कलम तथा अन्य शैक्षिक सामग्री सहयोगस्वरूप प्रदान गरिएको छ। यस सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधार गर्न र छात्राहरूको पठनपाठनलाई थप सहज बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा आगामी वर्षदेखि विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने योजना रहेको जानकारी दिइएको थियो। यसले आर्थिक तथा शैक्षिक अवसरको अभावमा रहेका छात्राहरूको शिक्षामा निरन्तरता र पहुँच अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, शिक्षाप्रेमी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

त्यसैगरी, परियोजना व्यवस्थापक इन्जिनियर शिवाङ दत्त, सन्ध्या बज्राचार्य तथा जिवेश गुरुङको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।

शिक्षा, बालबालिकाको उज्ज्वल भविष्य तथा समुदायको शैक्षिक विकासलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यस परियोजनाले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुका साथै शिक्षा क्षेत्रमा सहकार्य र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

Comment

Related News

Latest News

Trending News