निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाइएको विरुद्ध दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।
२० कात्तिकमा दर्ता भएको उक्त रिटमाथि अदालतले सुरुमा तिहार बिदा लगत्तै ३० कात्तिकका लागि सुनुवाइको मिति तय गरेको थियो । यद्यपि, सोही दिन सरकारले छठ पर्वको सार्वजनिक बिदा घोषणा गरेपछि सुनुवाइको कार्यतालिका प्रभावित भई पछि सरेको थियो ।
लामो चाडपर्वको बिदा सकिएर मंगलबार अदालत खुलेसँगै सर्वोच्च प्रशासनले बुधबारका लागि नयाँ पेसी तोकेको हो । कार्कीको निवेदनमाथिको प्रारम्भिक सुनुवाइ एक न्यायाधीशको एकल इजलासमा हुनेछ ।
गत १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी प्रमुखको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो । सोही दिन सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई आईजी पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
सरकारको उक्त कदम कानुनविपरीत रहेको र यसबाट आफूलाई अन्याय परेको जिकिर गर्दै कार्की न्यायका लागि सर्वोच्च अदालत पुगेका हुन् ।


