कर तिर्नु नागरिकको दायित्व मात्र नभई सुशासन र समृद्ध राष्ट्र निर्माणको आधार भएको सन्देश प्रवाह गर्दै आन्तरिक राजस्व कार्यालय सिमराले १५औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८३ को शुभारम्भ गरेको छ।
करप्रति नागरिकको बुझाइ फराकिलो बनाउने, करदाता र राज्यबीचको विश्वास अभिवृद्धि गर्ने तथा कर तिर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले प्रभातफेरीबाट कर सप्ताहको सुरुवात गरेको हो।
‘कर न्याय र सुशासनको सुनिश्चितता स् समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ मंगलवार बिहान आयोजित प्रभातफेरीमा निजी क्षेत्र, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो।
कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरी नेपाल टेलिकमको कार्यालय हुँदै पुनः आन्तरिक राजस्व कार्यालय सिमरामा पुगेर सम्पन्न भएको थियो। प्रभातफेरीमार्फत करको महत्त्व, नागरिकको जिम्मेवारी र राज्यको विकासमा राजस्वको भूमिकाबारे सन्देश प्रवाह गरिएको थियो।
कर सप्ताहको पहिलो सेवाग्राहीलाई सम्मान
कर सप्ताहको पहिलो दिन कार्यालय पुगेर सबैभन्दा पहिले सेवा लिने रौतहटका करदाता अरुणकुमार यादवलाई सम्मान गरिएको छ। कर प्रशासन र सेवाग्राहीबीचको सम्बन्धलाई आत्मीय बनाउँदै करदाताको सहभागिता प्रोत्साहित गर्ने उद्देश्यले उनलाई सम्मान गरिएको कार्यालयले जनाएको छ।
प्रमुख कर अधिकृत विकासकुमार रजकले कर सप्ताहलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई करसम्बन्धी ज्ञान, सचेतना र जिम्मेवार नागरिक सहभागिता विस्तार गर्ने अभियानका रूपमा अघि बढाइएको बताए।
विद्यालयदेखि उद्योगी व्यवसायीसम्म लक्षित कार्यक्रम
कार्यालयले कर सप्ताहभरि बारा र रौतहटका विभिन्न स्थानमा करदाता शिक्षा, जनचेतनामूलक अभियान, विद्यार्थी लक्षित प्रतियोगिता तथा उत्कृष्ट करदाता सम्मानलगायतका कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यक्रमअनुसार मंसिर २ गते रौतहट उद्योग वाणिज्य संघको सहजीकरणमा गौरमा करदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ। मंसिर ३ गते बाराका विभिन्न स्थानीय तह तथा विद्यालयमा करसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिनेछ।
त्यसैगरी, मंसिर ४ गते कक्षा ९ र १० का विद्यार्थीबीच ‘कर न्याय र सुशासनको सुनिश्चितता स् समृद्धिमा नागरिक सहभागिता’ विषयमा वक्तृत्वकला प्रतियोगिता हुनेछ। नयाँ पुस्तालाई कर प्रणाली र नागरिक दायित्वबारे जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
मंसिर ५ र ६ गते बारा तथा रौतहटका विभिन्न स्थानमा करसम्बन्धी सूचनामूलक सामग्रीमार्फत प्रचारप्रसार गरी नागरिकमा करसम्बन्धी जानकारी विस्तार गरिनेछ।
साताव्यापी अभियानको अन्तिम दिन मंसिर ७ गते कार्यालय परिसरमा सरोकारवालासँग अन्तरक्रिया तथा उत्कृष्ट करदातालाई सम्मान गर्दै १५औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन गरिने प्रमुख कर अधिकृत रजकले जानकारी दिए।
करबाट संकलित राजस्व नै विकास निर्माण, सार्वजनिक सेवा र राज्य सञ्चालनको महत्त्वपूर्ण आधार भएकाले कर प्रशासनलाई नागरिकमैत्री, पारदर्शी र उत्तरदायी बनाउनु आवश्यक रहेको सन्देशसहित कार्यालयले यस वर्षको कर सप्ताहलाई जनसहभागितामूलक बनाउने लक्ष्य लिएको छ।
कर तिर्ने नागरिकको योगदानको सम्मान र करप्रतिको सकारात्मक सोचको विकासमार्फत जिम्मेवार करदाता तथा उत्तरदायी कर प्रशासन निर्माण गर्नु नै अभियानको मुख्य उद्देश्य रहेको कार्यालयले जनाएको छ।


