२०८३ मंसिर २, बुधवार ०६:५५

संघीय सरकारका स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मंगलबार जनकपुरधाममा मधेश प्रदेश सरकारद्वारा सञ्चालित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेकी छन् ।

सो क्रममा उनले प्रादेशिक अस्पताल जनकपुर, रक्तसञ्चार सेवा केन्द्र र औषधि आपूर्ति कार्यालयको समेत निरीक्षण गरेकी छन् । निरीक्षण गर्नेक्रममा मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको सेवा प्रवाहमा सुधार ल्याउन अवलोकन गरिएको बताइन् । प्रादेशिक अस्पतालमा सेवा प्रवाह र सरसफाइमा कमीकमजोरी देखिएको अस्पताल प्रशासनसँग यस विषयमा छलफल भएको जानकारी दिइन् ।

मन्त्री मेहताले अस्पतालको सेवा सुधारका लागि सङ्घीय सरकारका तर्फबाट आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अस्पताल व्यवस्थापनले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताइन् । त्यस्तै अस्पतालको सघन उपचार कक्ष -आइसीयू) र भेन्टिलेटर सेवा विस्तारको तयारी भइरहेको बताइन् । उनले हाल अस्पतालमा १० वटा आईसीयू शैय्या सञ्चालनमा छन् भने थप २० वटा शैय्या विस्तार गर्ने तयारी भइरहेको बताइन् ।

सेवा विस्तार भएपछि गम्भीर प्रकृतिका बिरामीको उपचारमा सहज हुने उहाँले विश्वास व्यक्त गरिन् । अस्पतालमा उपचारका क्रममा स्वास्थ्यकर्मीमाथि हुने हातपात तथा दुव्र्यवहारका घटनाबारे उठेको प्रश्नमा मन्त्री मेहताले स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुनमा सुधार गर्न प्रक्रिया अघि बढाइएको बताइन् । स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐन निर्माणको विषय सदनसम्म पुगिसकेको उल्लेख गर्दै उनले कानुन निर्माण भएपछि स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहार रोकिने बताइन् ।

Comment

Related News

Latest News

Trending News