२०८३ मंसिर २, बुधवार ०६:५८

आस्था, श्रद्धा, भक्ति, आत्मशुद्धि, संयम, निष्ठा र पारिवारिक सहभागितालाई विशेष महत्त्व दिँदै यस वर्षको छठपर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ । प्रकृति तथा सूर्यप्रतिको सम्मानसँगै सामाजिक एकता, सद्भाव र सहअस्तित्वको सन्देश बोकेको छठपर्व शुक्रबारदेखि शुरु भइ सोमबार सम्पन्न भएको हो ।

चार दिनसम्म मनाइने यस पर्वअन्तर्गत शुक्रबार शुद्धता र सरसफाइमा ध्यान दिइएको थियो भने शनिबार खरना, आइतबार अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि पर्व समापन भएको हो । पहिले तराई–मधेशमा मात्र विशेष रूपमा मनाइने छठपर्व पछिल्ला वर्षहरूमा देशका अधिकांश भागमा विस्तार हुनुका साथै विदेशमा समेत मनाउन थालिएको छ । छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालु तथा श्रद्धालु रातभर घाटमा जाग्राम बसेर छठीमाताको आराधना गर्ने, लोकगीत तथा भजन गाउने गर्छन् ।

भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि व्रतालुले चारदिने कठिन व्रत सम्पन्न गर्छन् । यस वर्ष छठपर्व कात्तिकको अन्तिम साता परेकाले धानबाली भित्र्याइसकिएको र मौसम पनि अनुकूल रहेकाले रौतहटसहित छिमेकी जिल्ला बारा, पर्सा र सर्लाहीमा छठको रौनक थपिएको स्थानीयको भनाइ छ । गौर नगरपालिकाका पूर्वमेयर अजय गुप्ताका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा व्रतालुको सङ्ख्यामा करिब १५ प्रतिशत वृद्धि भएको छ । रौतहटका बागमती नदी, लालबकैया नदी, अरुवा खोला, भकुवा खोला, महकार पोखरी, इनरपोखरी र सहरमुजुवा पोखरीलगायत स्थानीय तालतलैया तथा खोलानालामा व्रतालु र भक्तजनको उल्लेख्य भीड लागेको थियो । परम्परागत रूपमा छठ मनाइँदै आएका स्थानीय घाटहरूमा आकर्षक सजावटसहितका पण्डाल निर्माण गरिएका थिए ।

ती पण्डालमा व्रतालु तथा परिवारजन पूजाअर्चनामा व्यस्त देखिन्थे भने छठको रौनक हेर्न स्थानीय युवा तथा सर्वसाधारणको पनि बाक्लो उपस्थिति थियो । एक दशकअघिको तुलनामा पछिल्ला वर्षहरूमा छठघाटलाई आकर्षक र सुविधासम्पन्न बनाउने प्रतिस्पर्धा बढ्दै गएको देखिन्छ । विशेषगरी सीमावर्ती क्षेत्रका घाटहरूमा स्थानीय बजारमा उपलब्ध सामग्रीका अतिरिक्त भारतीय बजारबाट समेत सजावटका सामग्री ल्याउने गरिएको छ । तर, यस किसिमको तडकभडकलाई जिल्लाका धर्म तथा संस्कृतिसँग सम्बद्ध व्यक्ति र ज्येष्ठ नागरिकहरूले सकारात्मक रूपमा लिएको देखिँदैन ।

बौद्धिमाई नगरपालिका–७ का ७२ वर्षीय रामदेव महतोका अनुसार ५० वर्षअघिको छठघाटमा अहिलेको जस्तो तडकभडक र सजावट हुँदैनथ्यो । त्यसबेला सजावटका सामग्रीसमेत सहजै उपलब्ध थिएनन्। महतोले भने, æउहिले सामान पाइँदैनथ्यो, अन्नअनाज प्रशस्तै भए पनि पैसा हुँदैनथ्यो। अहिलेका मानिससँग पैसा छ, सुखसयलमा रमाउँछन् । यस्तै हो भने अब छठको मौलिकता हराएर झकिझकाउ र देखावटीपनले स्थान पाउँछ ।Æ त्यसैगरी, मौलापुर नगरपालिका–५ का ३५ वर्षीय खागा दास बाल्यकालमा आफूले देखेको छठपर्व तीर्थ, व्रत, न्यासध्यान र शुद्धतामा केन्द्रित हुने गरेको बताउँछन् ।

तर, अहिले पर्वमा धार्मिक विधि र परम्पराभन्दा तडकभडक तथा मनोरञ्जनले बढी स्थान पाउन थालेको उनको भनाइ छ । बौद्धिमाई नगरपालिका–५ का श्रीप्रकाश कौशल र नितेषनन्दन मिश्र पनि छठपर्वमा धार्मिक तथा सांस्कृतिक पक्षभन्दा नाचगान, भजनकीर्तन, चुड्किला र नाटक प्रदर्शनजस्ता मनोरञ्जनात्मक गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्छन् । उनीहरूका अनुसार छठलाई धार्मिक अनुष्ठानका साथै विशेष उत्सवका रूपमा मनाउने क्रम बढे पनि यसको मौलिकता जोगाउन आवश्यक छ । जिल्लाका विभिन्न स्थानमा सजाइएका प्रमुख छठघाटमा प्रोजेक्टरमार्फत धार्मिक चलचित्र प्रदर्शन तथा पौराणिक कथावाचनको व्यवस्था गरिएको थियो।

विशेषगरी युवा–युवती गीतसंगीतमा रमाइरहेको स्थानीयवासी बताउँछन् । छठपर्वको धार्मिक तथा सांस्कृतिक महत्त् वबारे बौद्धिमाई नगरपालिका–९ का वडाध्यक्ष मुक्तिनारायण मिश्र छठलाई आस्था, भक्ति र संगीतको अनुपम संगमका रूपमा व्याख्या गर्छन् । यसको मौलिकता हराउन नदिन विशेषगरी युवावर्गलाई सचेत गराउनुपर्ने उनको भनाइ छ । मिश्रका अनुसार यस पर्वका क्रममा माछामासु, लसुन, प्याजलगायत तामसी भोजन त्याग्ने धार्मिक मान्यता छ । यसैगरी, बौद्धिमाई नगरपालिकाका पूर्वमेयर राजीवरञ्जन यादवका अनुसार पछिल्लो समय छठपर्व तराई–मधेशमा मात्र सीमित नरही देशका विभिन्न भूभाग हुँदै विश्वका विभिन्न मुलुकसम्म फैलिएको छ ।

धार्मिक आस्था, सामाजिक सद् भाव र सांस्कृतिक पहिचानका कारण यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको उनले बताए । छठपर्वको व्यापकता र आकर्षण बढ्दै जानु सकारात्मक पक्ष भए पनि यसको मौलिक धार्मिक तथा सांस्कृतिक स्वरूप जोगाउनु उत्तिकै आवश्यक देखिन्छ ।

Comment

Related News

Latest News

Trending News