२०८३ मंसिर २, बुधवार ११:०९

रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा ९ एमएम पेस्तोलमा प्रयोग हुने गोलीजस्तो देखिने २७ थान गोली फेला परेको छ।

सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले मंगलबार राति सीमा क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा उक्त गोली बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटका अनुसार सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त टोलीले कानुपट्टी सीमा क्षेत्रमा शंकास्पद अवस्थामा रहेको सेतो प्लास्टिकको झोला जाँच गर्दा गोली फेला पारेको थियो।

झोलाभित्र ९ एमएम राउन्डजस्तो देखिने २७ थान गोली रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा बेवारिसे अवस्थामा गोली फेला परेपछि घटनालाई सुरक्षा निकायले गम्भीर रूपमा लिएको छ। बरामद गोली कसले र कुन प्रयोजनका लागि त्यहाँ छाडेको हो भन्ने विषयमा थप अनुसन्धान आवश्यक देखिएको छ।

Comment

Related News

Latest News

Trending News