मधेश प्रदेशमा संविधानको धारा १६८ को दफा २ अनुसार सरकार बन्ने सहमति दलहरुबीच बिहीबारसम्म हुन सकेको छैन । नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभामा बहुमत प्राप्त गर्ने सम्भावना नदेखिएपछि गत शनिवार राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख सुरेन्द्र लाभले मंसिर ४ गते ४ बजे सम्म २ वा २ भन्दा बढी दललाई सरकार बनाउन आह्वान गरे ।
प्रदेश प्रमुख लाभले सरकार गठनका लागि दिएको समय सीमा सकिन अब २० घण्टा भन्दापनि कम समय रहेको छ । कांग्रेसका मुख्यमन्त्री यादवलाई एमाले र नेपाली कम्युनिष्ट पार्टी-नेकपा)ले दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री अल्पमतमा परेको थियो । कांग्रेसले जनता समाजवादी पार्टी(जसपा) नेपाल र जनमत पार्टीलाई सरकारबाट हटाएर एमाले र नेकपासित गठबन्धन गरेको थियो । कांग्रेसले जसपा र जनमतका मन्त्रीहरुलाई बर्खास्त गरेको थियो । एमाले र नेकपाले कांग्रेसको साथ छाडेर जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्न सहमत भएका थिए ।
ती दुबै दल जसपासित सहमति गरेपछि मात्र सरकारबाट बाहिरिएको थियो । उच्च स्रोतहरुका अनुसार एमाले र नेकपाले अझै पनि जसपा नेपालका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री बनाउन प्रतिबद्ध छ । तर कांग्रेसले एमाले संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सरकार बनाउन लविंग शुरु गरेको छ । नेकपाका एकजना सांसदले जनाए अनुसार चार दलबीच सरकार बनाउन छलफल भए पनि कुनै निस्कर्षमा पुगिएको छैन । ‘एमाले र नेकपा एक ठाउँमा रहेपनि जसपा अथवा कांग्रेसको समर्थन बिना सरकार बन्दैन्’ उनले भने, सरकार बनाउन कांग्रेस र जसपा मध्ये एउटा दलसित सहमति हुनुपर्छ ।
जसपा नेपालको नेतृत्वमा सरकारमा सहभागि हुन एमाले, नेकपापनि तयार छ । कांग्रेस पार्टी पनि जसपा नेपाल नेतृत्वको सरकारमा जान सहमत छ । कांग्रेसले एमालेको नेतृत्वलाई समेत स्वीकार गर्न तयार छ । तर एमालेले हालसम्म कांग्रेसको नेतृत्वमा सरकार बनाउन तयार छैन । एमालेका केही नेताहरुले कांग्रेसको समर्थन लिएर सरकार बनाउने दौडधुपमा रहे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘लाइन’ जसपाका सरोज कुमार यादव तर्फ प्रष्ट छ । अन्य दलहरुबीच सहमति हुन सकेको छैन । तर दुई तर्फी समर्थन जसपा नेपाललाई छ ।
जसपाले संविधानको धारा १६८ को उपधारा ३ टेकेर सरकार बनाउने पक्षमा छ । त्यसमा एमाले सहमत छैन् ।एमालेले १६८को २ बमोजिम सरकार बनाए मात्र जसपालाई समर्थन गर्ने वचन दिएको छ । मधेशी दललाई छाडेर पुरानै गठबन्धनमा मुख्यमन्त्री फेरेर सरकार बनाउने सम्भावना पनि बलियो छ । हुन त केहिले एमालेको समर्थन कांग्रेसलाई नहुने तर्क दिइरहेका छन् । तर कांग्रेसले नै एमालेलाई समर्थन दिएर उपधारा २ अनुसार सरकार बनाए अप्रत्याशित हुने छैन । सबै दलहरु सरकार बनाउने गणितात्मक हिसाबमा जुटेका छन् ।
एमालेका एक महिना मात्र मुख्यमन्त्री बनेका सरोज कुमार यादवले आफू माथि लाग्ने गरेको आरोपलाई हटाउन चाहेका छन् । उनले धेरै समय नभएपनि केहि महिनाका लागि पनि मुख्यमन्त्रीका लागि प्रयास गरिरहेको बताइन्छ । यद्यपि यसको उनले स्वयम् पुष्टि गरेका छैनन् । मधेश प्रदेश सभामा जसपा नेपालको २८ जना, एमालेको २३ जना, कांग्रेसको २२ जना, नेकपाको १५ जना र जनमत पार्टीको १२ जना सांसद छन् । १/१ जना दुई दलका सांसद छन् । सरकार गठनका लागि जसपा, एमाले र नेकपाबीच सहमति भए ६६ जना सहितको बहुमत हुनेछ ।
जसपा, कांग्रेस र जनमत पार्टीले सरकार बनाए ६२ जना सांसद सहितको बहुमत हुनेछ । स्रोतका अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव, संरक्षक महन्थ ठाकुर र सह अध्यक्ष शरतसिंह भण्डारी सरकारबारे निर्णय लिन जनकपुरधाममा छन् । उनीहरुबीच शुक्रबार बिहान ११ बजे छलफल हुने सम्भावना छ । बैठकमा प्रदेश सभाका सांसदहरुको समेत सहभागिता रहने बताइएको छ । मधेश प्रदेशको दोस्रो कार्यकालमा छैटौँ मुख्यमन्त्री नियुक्तिका लागि पहल भइरहेको छ । पहिलो कार्यकालमा जसपा नेपालका लालबाबु राउतको नेतृत्वमा पूर्ण कार्यकाल सरकार चलेको थियो ।

