भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकार मधेश प्रदेशको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम नगर कमिटीद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लम्सालले मन्त्री लम्साल चालु आर्थिक वर्षमा संघीय सरकारले भौतिक पूर्वाधार विकासका लागि मधेश प्रदेशमा करिब ५० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी समेत दिए । उनले मधेशमा सडक, पुल, भवन तथा खानेपानी लगायतका पूर्वाधार क्षेत्रमा मधेश प्रदेशका लागि देशकै सबैभन्दा बढी बजेट विनियोजन गरिएको दाबी गरे ।
मधेशको विकासका लागि सरकारले योजनाबद्ध रूपमा काम अघि बढाइरहेको उल्लेख गर्दै उनले सङ्घीय सडकअन्तर्गतका ठेक्का प्रक्रिया क्रमशः अगाडि बढिरहेको बताए । लामो समयदेखि अधुरा रहेका कमला पुलसहित हुलाकी राजमार्गका विभिन्न पुलहरूको निर्माण सम्पन्न गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो ।
कार्यक्रममा उनले निर्माण क्षेत्रमा कार्यरत श्रमिकमध्ये ७० प्रतिशतभन्दा बढी मधेश प्रदेशका रहेको उल्लेख गर्दै सरकारले श्रमिकको पारिश्रमिक वृद्धि गर्ने निर्णयबाट यस प्रदेशका श्रमिक सबैभन्दा बढी लाभान्वित हुने दाबी गरे । मन्त्री लम्सालले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी अनुशासित, व्यवस्थित र योजनाबद्ध रूपमा संगठन विस्तार तथा राजनीतिक गतिविधिमा सक्रिय हुनसमेत निर्देशनसमेत दिए ।
कार्यक्रममा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

