२०८३ मंसिर ४, शुक्रवार ०८:३८

सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण र भन्सार प्रशासनको सक्रियताले गौर भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेखनीय सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो चार महिनामै कार्यालयले निर्धारित लक्ष्यभन्दा झण्डै चार करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ।

साउनदेखि कात्तिक मसान्तसम्म गौर भन्सारले कुल १६ करोड ६९ लाख ३ हजार रुपैयाँ राजस्व उठाएको छ। यो अवधिका लागि निर्धारण गरिएको लक्ष्यको १२४।३७ प्रतिशत हो। अर्थात् कार्यालयले लक्ष्यभन्दा २४।३७ प्रतिशत बढी राजस्व सङ्कलन गर्न सफल भएको छ।

चार महिनाको तथ्याङ्क हेर्दा राजस्व सङ्कलनमा मासिक उतारचढाव देखिए पनि असोज र कात्तिकमा भने उल्लेखनीय वृद्धि भएको छ। भदौमा लक्ष्यअनुसार राजस्व उठाउन नसकेको कार्यालयले त्यसपछिका महिनामा लक्ष्यलाई निकै पछाडि छाडेको हो।

कार्यालयको विवरणअनुसार साउनमा ३ करोड १५ लाख रुपैयाँ लक्ष्य रहेकामा ३ करोड ५८ लाख ३३ हजार रुपैयाँ सङ्कलन भएको थियो। भदौमा ३ करोड ६० लाख रुपैयाँ लक्ष्यको तुलनामा ३ करोड २४ लाख ८ हजार रुपैयाँ मात्रै उठ्यो।

तर, असोजमा राजस्व सङ्कलनले गति लियो। उक्त महिनामा ४ करोड ५० लाख रुपैयाँ लक्ष्य रहेकामा ५ करोड ९७ लाख ३९ हजार रुपैयाँ असुली भयो। यो निर्धारित लक्ष्यभन्दा ४७।५० प्रतिशत बढी हो।

कात्तिकमा पनि राजस्व सङ्कलनको गति कायम रह्यो। २ करोड ७० लाख रुपैयाँ लक्ष्य राखिएकोमा ३ करोड ९९ लाख २३ हजार रुपैयाँ सङ्कलन भएको गौर भन्सार कार्यालयले जनाएको छ। यो लक्ष्यको १४७।८० प्रतिशत हो।

यसरी चार महिनाको अवधिमा भदौबाहेक साउन, असोज र कात्तिकमा कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। विशेषगरी पछिल्ला दुई महिनाको उत्साहजनक नतिजाले समग्र राजस्व उपलब्धि बढाएको देखिन्छ।

गौर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उपसचिव शुवन शर्माले सीमा क्षेत्रमा हुने चोरी निकासी तथा पैठारी नियन्त्रणका लागि गरिएको संयुक्त प्रयासले राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पारेको बताए।

उनका अनुसार भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सक्रियता, नियमित गस्ती तथा निगरानीका कारण अवैध कारोबार नियन्त्रणमा सहयोग पुगेको छ। भन्सार छलीका गतिविधि न्यूनीकरण हुँदा सरकारी राजस्वमा समेत वृद्धि भएको उनको भनाइ छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध आयात–निर्यात नियन्त्रण, राजस्व चुहावट रोकथाम र भन्सार प्रक्रियालाई प्रभावकारी बनाउनु कार्यालयका लागि मुख्य चुनौती रहँदै आएको छ।

चार महिनाको राजस्व उपलब्धिले गौर भन्सारको कार्यसम्पादनमा सकारात्मक सङ्केत देखाए पनि आगामी महिनामा यो उपलब्धिलाई निरन्तरता दिनुपर्ने चुनौती छ। सीमा क्षेत्रमा निगरानी र अनुगमनलाई अझ प्रभावकारी बनाउन सके राजस्व सङ्कलन थप बढ्ने अपेक्षा गरिएको छ।

Comment

Related News

Latest News

Trending News