प्रधानमन्त्री बालेन्द्र साहको आगामी आइतबारदेखि हुने दुईदिने भारतको राजकीय भ्रमण द्विपक्षीय सम्बन्ध विस्तार, आर्थिक सहकार्य र विकास निर्माणका विषयमा केन्द्रित हुने भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयले प्राथमिकता पाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव अमृतबहादुर राईले दुई देशबीच आपसी सहयोग र सहकार्यका साथै विकास निर्माण तथा आर्थिक गतिविधिलाई भ्रमणको मुख्य प्राथमिकतामा राखिएको बताए ।
भ्रमणका क्रममा ऊर्जा तथा सम्पर्क सञ्जालसम्बन्धी सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गरिने जनाएको छ । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल– भारत बिजनेश फोरम आयोजना गरिनेछ ।
उक्त कार्यक्रममा दुवै देशका व्यवसायीबीच सहकार्य विस्तार, लगानीका अवसर र नीतिगत व्यवस्थाबारे छलफल हुनेछ । भ्रमण टोलीमा निजी क्षेत्रका ५२ जना व्यवसायीसहितको सहभागिता रहने भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री साहले आइतबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट गर्नेछन् भने महात्मा गान्धीको समाधिस्थल राजघाटमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।
सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट र प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले उनको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री साह नेतृत्वको प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत सरकारी अधिकारी सहभागी हुने जनाइएको छ ।
भ्रमणबाट दुई देशबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुनुका साथै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री साह मङ्सिर ७ गते स्वदेश फर्किनेछन् ।

