अपडेट 
२०७७ जेष्ठ १५, बिहीबार ०५:५३

जनकपुरधाम । पूर्व उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी(राजपा)का ६ जना अध्यक्षबीच एकमत नरहेकाले पार्टी एकतामा जटिलता देखिएको बताएका छन् ।

अध्यक्ष यादवले बुधवार बीबीसी नेपाली सेवासितको वार्तामा राजपासित पार्टी एकता टुंगोमा नपुग्नुको कारण ६ जना अध्यक्षमा एकरूपता नदेखिनु हो । दुवै दलले वैशाख १० गते पार्टी एकताको घोषणागर्दै जनता समाजवादी पार्टीको प्रतिबद्धता पत्र निर्वाचन आयोगमा ११ गते दर्ता गराएका थिए ।

आयोगले दुवै दललाई एकिकरणको आवश्यक कागजातहरु पुरा गर्न दिएको ४५ दिनको समयसीमा सकिन अब ९ दिन मात्र बाँकी छ ।तर दुवै दलबीच ‘शक्ति बाँडफाँड’मा कुरो अड्किएकोछ ।

‘४५ दिनभित्र गर्ने कोसिस भइरहेको छ’ अध्यक्ष यादवले भने, भएन भने ४६ औँ दिनमा गरे पनि भइहाल्छ नि ।’ ‘मिल्नेलाई कसले रोक्छ ? फुट्नेलाई कसले रोक्छ र ’ यादवले भने ।

हन्थ ठाकुरलाई सहमतिको क्रममा राजपाले मनार्थ अध्यक्षको रुपमा प्रस्ताव गरेको थियो ।तर अहिले ठाकुर कार्यकारी भूमिका खोजेपछि विवाद गहिरिएकोछ ।

नेताहरुबीच अधिकार बाँडफाँड र केन्द्रिय पदाधिकारी लगायतको टुंगो लगाउने बैठकमा राजपाको तर्फबाट राजेन्द्र महतोले ठाकुरलाई कार्यकारी भूमिका सहितको अध्यक्ष प्रस्ताव गरेपछि छलफल नै अबरुद्ध भएको थियो ।त्यस अघि दुवै दलले ठाकुरलाई मनार्थ, डा.बाबुराम भट्टराईलाई परिषदको अध्यक्ष र यादवलाई कार्यकारी अधिकार सहितको अध्यक्ष बनाउन सहमति भएको थियो ।

राजपाले नेता ठाकुरलाई अध्यक्षको रूपमा अघि सारेकोबारेमा आफूलाई जानकारी नभएको यादव बताउँछन् ।‘बरू त्योभन्दा फरक प्रस्ताव राजपाको तर्फबाट आएकोछ ’ उनले भने, महन्थजीलाई सम्मानित पद दिने प्रस्ताव आएको छ।’

संरक्षक, संयोजक वा त्यस्तै केही मानार्थ पद दिने भन्ने प्रस्ताव राजपाका शीर्षस्थ नेताहरूबाटै आएको उनले बताए ।

आफूले प्रस्ताव गरेपछि समाजवादी दलले निर्णय दिन बाँकी रहेकाले एकीकरणमा ढिलाइ हुन थालेको राजपाका नेताहरुले आरोप लगाउन थालेका छन् ।तर अध्यक्ष यादवले भने, समस्या राजपाभित्र छ ।

‘छ जना अध्यक्ष भएको पार्टी न हो, राजापा । छ जना अध्यक्षको छ तिर कुरा छ’ उनले भने, ‘मुख्य समस्या त्यहाँ हो। त्यसमा एकरूपता हुने बित्तिकै टुङ्गो लाग्छ ।’

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई समाजवादी दलको सङ्घीय परिषद्का अध्यक्ष छन्। एकीकृत दलमा महन्थ ठाकुरलाई मर्यादाक्रममा पहिलोमा राखिने सहमति भएको राजपा नेताहरूको भनाइ छ ।एकीकृत पार्टीमा भट्टराईलाई रोक्न यादव सक्रिय रहेको आरोपप्रति उनले भने, ‘ त्यो बेकारको कुरा हो । ’

समाजवादी पार्टीमा भट्टराई आफूभन्दा माथिल्लो मर्यादामा रहेको उल्लेखगर्दै उनले भने, ‘आफूहरू सबैले नेता भट्टराईलाई सम्मान गरिरहेको र कुनै टकराव रहेको छैन् ।’एकीकृत पार्टीमा नेता भट्टराईको स्थानबारे नेता उपेन्द्र यादवले भने, ‘तत्कालका लागि उहाँ संघीय परिषद्मा नै रहनुहोला जस्तो छ ।’राजपाका नेताहरुले पनि भट्टराईलाई परिषद्को अध्यक्ष मान्न तयार रहेको बताउँछन् ।

जनता समाजवादी पार्टीमा दुई जना अध्यक्ष राख्न सकिने विषयमा छलफल भइरहेको राजपा अध्यक्ष मण्डल संयोजक शरतसिंह भण्डारीले बताउँदै आएपनि नेता यादवले भने, ‘दुईजना अध्यक्ष हुँदैन, एकजना मात्र राख्ने कुरा चलिरहेको छ , व्यक्ति को हुने भन्ने फरक कुरा हो ।’पार्टी विधानको खाका बनाउने काम अहिले त्यही ढङ्गले अघि बढिरहेको उनले बताए ।

‘व्यक्तिगत रूपमा आफू अध्यक्षको निम्ति त्यति इच्छुक छैन’ उनले भने, पार्टी अध्यक्ष भइसकेको मान्छे उपाध्यक्ष वा सदस्य हुन सकिन्न भन्ने त छैन नि ।’

पार्टीले निर्णय गरेर जिम्मेवारी दिने हो भने मात्रै हो, व्यक्तिगत रूपमा मलाई त्यति इच्छा छैन ’उनले भने, ‘म त एउटा आन्दोलन, एउटा अभियानमा लागेको मान्छे हो ।’

पार्टी एकिकरणका लागि दुवै दलले केन्द्रिय सदस्यहरुको हस्ताक्षर संकलन गरिसकेका छन् ।विधान र घोषणा पत्रको कामपनि अन्तिम चरणमा पुगेको छ ।तर एकिकृत पार्टी जनता समाजवादीको कार्यकारी अध्यक्षमा ठाकुरले दृष्टि गडाएपछि निर्धारित समयमा निर्वाचन आयोगमा दर्ता हुने संभावना कमजोर बन्दै गएकोछ ।

Comment


Related News

Latest News

Trending News