माता जानकीको पवित्र जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई रेलमार्गबाट जोड्ने ऐतिहासिक तयारी अन्तिम चरणमा पुगेपछि जनकपुरधाममा उत्साह छाएको छ । लामो समयदेखि प्रतीक्षा गरिएको जनकपुरधाम– अयोध्याधाम रेल सेवा सञ्चालनमा आउने भएपछि यहाँका स्थानीयवासी, व्यवसायी, पर्यटनकर्मी तथा धार्मिक क्षेत्रसँग आबद्ध व्यक्तिहरू निकै हर्षित भएका छन् ।
दुई ऐतिहासिक तथा धार्मिक सहरलाई प्रत्यक्ष रेल सम्पर्कले जोड्ने भएपछि जनकपुरधाममा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षासहित स्थानीयवासी रेलबाट आउने पहिलो पाहुनाको स्वागत गर्न व्यग्र प्रतीक्षामा छन् । जनकपुरधामवासीका लागि रेल सेवा सञ्चालनको विषय मात्र नभइ सदियौँदेखि धार्मिक, सांस्कृतिक र आध्यात्मिक सम्बन्धले जोडिएका दुई ऐतिहासिक सहरबीचको सम्बन्धलाई आधुनिक यातायातको माध्यमबाट थप मजबुत बनाउने महत्वपूर्ण अवसर पनि हो । रामायणकालीन सम्बन्धसँग जोडिएका अयोध्या र जनकपुरधाम रेलमार्गबाट जोडिन लाग्दा यहाँका नागरिकले यसलाई गौरवको विषयका रूपमा लिएका छन् । नेपालका प्रधानमन्त्री बालेन्द्र साह …बालेनÚ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेल सेवाको उद्घाटन गर्ने भएका छन् ।
नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट दुवै प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत रेल सेवाको शुभारम्भ गर्ने तयारी छ । उद्घाटनसँगै नेपाल र भारतबीच धार्मिक पर्यटन तथा सीमापार यातायात सम्पर्क विस्तारको नयाँ अध्याय शुरु हुने विश्वास गरिएको छ । रेल सेवा सञ्चालनको खबर सार्वजनिक भएसँगै जनकपुरधाममा विशेष उत्साह देखिएको छ । अयोध्याबाट जनकपुरधामसम्म रेल चढेर आउने श्रद्धालु, पर्यटक तथा अन्य पाहुनालाई स्वागत गर्ने प्रतीक्षामा स्थानीयवासी रहेका छन् । विशेषगरी धार्मिक पर्यटनसँग जोडिएका व्यवसायीहरू यस सेवाले जनकपुरधाममा भारतीय पर्यटकको आगमन बढाउने र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वासमा छन् । जनकपुरधामका होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटनकर्मी, पसल सञ्चालक तथा विभिन्न सेवाप्रदायकहरूका लागि यो रेल सेवा नयाँ अवसरका रूपमा देखिएको छ ।
भारतको अयोध्याबाट सीधै जनकपुरधाम आउने यात्रुको संख्या बढेमा होटल, रेस्टुरेन्ट, स्थानीय यातायात, पूजा सामग्री, हस्तकला तथा अन्य व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । जनकपुरधामको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउन पनि उक्त रेल सेवाले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको विश्वास छ । अयोध्याबाट आउने पाहुनाले जनकपुरधामको जानकी मन्दिर, विवाहमण्डप, राम मन्दिर, धनुषसागर, गंगासागरलगायतका धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमण गर्ने अवसर पाउनेछन् । त्यसैगरी जनकपुरधामबाट अयोध्या जाने श्रद्धालुले पनि सहज यातायात सुविधा प्राप्त गर्नेछन् । भारतीय रेल मन्त्रालयले जनकपुरधामदेखि उत्तर प्रदेशको अयोध्या क्यान्टसम्म सञ्चालन हुने साप्ताहिक रेल सेवालाई स्वीकृति दिइसकेको छ ।
नोभेम्बर १४ मा भारतको रेल मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार करिब ६०४ किलोमिटर लामो रेल सेवाले नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक सहरलाई जोड्नेछ । यस रेललाई सरयु–कमला एक्सप्रेसका रूपमा पनि चिनाइएको छ । अयोध्यामा बग्ने सरयु नदी र धनुषामा बग्ने कमला नदीको नामबाट यसको नामकरण गरिएको छ । प्रारम्भिक योजना अनुसार भारतीय रेलका १७ वटा डिब्बासहित सेवा सञ्चालन गर्ने तयारी छ । रेलले अयोध्या क्यान्ट, अयोध्याधाम, मनकापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगर हुँदै जनकपुरधामसम्म सेवा दिने छ ।
प्रस्तावित समयतालिकाअनुसार अयोध्या क्यान्टबाट प्रत्येक सोमबार र जनकपुरधामबाट प्रत्येक शनिबार रेल छुट्नेछ । यसले दुवै देशका यात्रुलाई धार्मिक भ्रमणका अतिरिक्त पारिवारिक भेटघाट, अध्ययन, व्यवसाय तथा अन्य कामका लागि आवतजावत गर्न सहज बनाउने अपेक्षा गरिएको छ । रेल सेवाको उद्घाटन तत्काल भए पनि उद्घाटनपछि नियमित व्यावसायिक सञ्चालनका लागि छुट्टै तयारी भइरहेको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार उद्घाटनपछिको पहिलो रेल नोभेम्बर २४ अर्थात् मंसिर ८ गते जनकपुरधाम आइपुग्ने तयारी छ ।
नियमित व्यावसायिक सेवा त्यसपछिको साताबाट सुरु गर्ने तयारी रहेको सार्वजनिक विवरणमा उल्लेख छ । यसअघि पनि दुबै सहरबीच धार्मिक सम्बन्धका आधारमा तीर्थयात्रीहरूको आवतजावत हुँदै आएको थियो । तर, प्रत्यक्ष रेल सेवा सञ्चालनमा आएपछि लामो दूरीको यात्रा तुलनात्मक रूपमा सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ । स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन रेल सेवा सञ्चालनसँगै पर्यटकका लागि व्यवस्थित प्याकेज, आवास, यातायात र भ्रमण मार्गको विकास गर्नुपर्ने आवश्यकता देखिएको छ। जनकपुरधाम आउने पाहुनालाई जानकी मन्दिरमा दर्शन गराउने मात्र नभई मिथिला संस्कृति, कला, परम्परा, खानपान र यहाँको ऐतिहासिक सम्पदासँग परिचित गराउन सके पर्यटकको बसाइ अवधि बढाउन सकिनेछ । हाल नेपालतर्फ जयनगर–जनकपुरधाम– बिजलपुरा खण्डमा करिब ५२ किलोमिटर दूरीमा रेल सेवा सञ्चालन हुँदै आएको छ । तर, नेपालतर्फको रेलमार्ग विद्युतीकरण नभएकाले डिजेलबाट चल्ने रेल प्रयोग भइरहेको छ ।

