२०८३ मंसिर ७, सोमवार ११:१७

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई नयाँदिल्लीको राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ अर्थात सैन्य सम्मान प्रदान गरिएको छ ।

प्रधानमन्त्री शाहलाई भारतीय सेनाको एक टुकडीले गार्ड अफ अनर प्रदान गरेको हो । गार्ड अफ अनर अर्थात सम्मान गारद विशिष्ट पाहुना, राष्ट्राध्यक्ष, सरकार प्रमुख वा उच्च कूटनीतिक अधिकारीलाई स्वागत वा बिदाइ गर्दा सेना वा सुरक्षा निकायद्वारा प्रदान गरिने औपचारिक सैन्य सम्मान हो ।

प्रधानमन्त्री शाह अहिले केहीबेरमा राजघाट पुगेर गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुनेछ । त्यसलगत्तै बिहान दुवै देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ ।

भेटवार्तापछि नेपाल र भारतबीच आर्थिक साझेदारी, यातायात सम्पर्क सञ्जाल (कनेक्टिभिटी), डिजिटल कनेक्टिभिटी, जलस्रोत, ऊर्जा, व्यापार, खेलकुद, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएको १० बुँदे दृष्टिपत्र संयुक्त विज्ञप्तिसँगै सार्वजनिक गर्ने तयारी छ ।

आजै विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री शाहले दिउँसो सवा ३ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह नयाँदिल्लीबाट काठमाण्डौका लागि प्रस्थान गर्नुहुनेछ । हिजो दिउँसो भारत जानुभएका प्रधानमन्त्री शाह आज बेलुकी साढे ६ बजेपछि काठमाण्डौ आइपुग्ने कार्यतालिका छ ।

Comment

Related News

Latest News

Trending News