भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट भर्चुअल माध्यममार्फत दुई महत्त्वपूर्ण परियोजनाको संयुक्त शुभारम्भ गर्नुभएको छ ।
दुई प्रधानमन्त्रीले सङ्खुवासभामा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो ।
९२ अर्ब ६७ करोड रुपैयाँ अनुमानित लागत रहेको यो आयोजना भारतीय कम्पनी सतलज जलविद्युत् निगमले आउँदो ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
बुट ढाँचामा बन्ने यस आयोजनाबाट नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउनेछ भने व्यावसायिक उत्पादन शुरू भएको २५ वर्षपछि आयोजना पूर्णरूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।
यसैगरी प्रधानमन्त्री शाह र मोदीले ‘जनकपुरधाम–अयोध्या क्यान्ट एक्सप्रेस’ रेल सेवाको पनि भर्चुअल रूपमै झण्डा फहराएर उद्घाटन गर्नुभएको छ ।
हप्ताको एक दिन सञ्चालन हुने यो रेल सेवाले जनकपुरधाम र अयोध्याबीचको ६०४ किलोमिटर दूरी झन्डै १९ घण्टामा पूरा गर्नेछ । हरेक शनिवार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट छुट्ने रेल आइतवार बिहान अयोध्या पुग्नेछ भने सोमवार बेलुका अयोध्याबाट छुटेर मङ्गलवार दिउँसो जनकपुरधाम आइपुग्नेछ ।
जयनगरमा रेल परिवर्तन गर्नुपर्ने झन्झट हटेसँगै यसले धार्मिक पर्यटन र सीमापार आवागमनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।
यस्तै हैदराबाद हाउसमा आयोजित विशेष कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई भारतको बहुआयामिक पूर्वाधार विकाससम्बन्धी ‘प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना’ को उद्देश्य र कार्यान्वयन प्रक्रियाबारे समेत जानकारी गराउनुभएको छ ।

