२०८३ मंसिर ८, मंगलवार ०७:१२

सर्लाहीको बरहथवा नगर अस्पतालमा उपचारका क्रममा नौ महिनाकी गर्भवती महिलाको मृत्यु भएपछि आक्रोशित आफन्तले आगजनी तथा तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरूले अस्पतालको आकस्मिक -इमर्जेन्सी) कक्षमा आगो लगाउनुका साथै भौतिक संरचनामा तोडफोड गरेका हुन् । बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानीट्यांकी टोलकी २१ वर्षीया सीमा रामदेवीको उपचारका क्रममा मृत्यु भएपछि तनाव सिर्जना भएको हो । तीन दिनदेखि बिरामी परेकी नौ महिनाकी गर्भवती रामदेवीको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको थियो ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ६ः०० बजे उपचारकै क्रममा उनी अचानक बेहोस भएकी थिइन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था जटिल बनेको आरोप लगाउँदै आफन्तले अस्पताल परिसरमा तोडफोड र आगजनी सुरु गरेका थिए । अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि रौतहटको चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको थियो । तर, त्यहाँका चिकित्सकले राति १० :५३ बजे उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरीले जनाएको छ ।

आगजनीका कारण बरहथवा नगर अस्पतालको इमर्जेन्सी कक्षमा व्यापक क्षति पुगेको छ। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । आगजनी र तोडफोडबाट अस्पतालमा करिब ३० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको अस्पतालका सूचना अधिकारी राजेश गुप्ताले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको छ । तर, आगजनीमा संलग्न रहेको आरोप लागेका अस्पतालकै करार कर्मचारीद्वय धिरज महरा र सुरेश महरा भने फरार रहेको र उनीहरूको तीव्र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि सम्भावित अप्रिय अवस्था आउन नदिन अस्पताल क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ भने आइतबार बिहानसम्म क्षेत्रको अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ । मृतक महिलाको मृत्यु चिकित्सकीय लापरबाहीका कारण भएको हो वा अन्य स्वास्थ्य जटिलताले भन्ने विषयमा भने आधिकारिक पुष्टि हुन बाँकी रहेको र पोस्टमार्टम रिपोर्ट तथा छानबिनपछि मात्र सत्यतथ्य बाहिर आउने प्रशासनले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News