थारु समुदायको मौलिक भाषा, कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्तरीको भंगहा नगरपालिका–७ मा दाताको सहयोगमा थारु संस्कृति तथा पर्यटन केन्द्रको भवन निर्माण गरिएको छ ।
भंगहामा मंगलबार बाबा तपसी तरसरी कुट्टीको छेउमा निर्माण गरिएको उक्त भवनको एक समारोहबीच उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रका परिकल्पनाकार एवं संरक्षक इन्जिनियर सुदिप कुमार चौधरी र डा। निता चौधरीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका छन् । थारु समुदायको मौलिक पहिचान, भाषा, कला, संस्कृति र परम्परालाई संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले भवन निर्माण गरिएको केन्द्रका अध्यक्ष रामनारायण चौधरीले जानकारी दिए ।
थारु समुदायको सांस्कृतिक सम्पदा संरक्षणमा व्यक्तिगत तवरबाट महत्वपूर्ण योगदान पु¥याउँदै आएका संरक्षकद्वय इ। सुदिप कुमार चौधरी र डा। निता चौधरीले भवन निर्माणका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आफ्नै समुदायको भाषा, कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले उनीहरूले व्यक्तिगत रूपमा उक्त रकम उपलब्ध गराएको अध्यक्ष चौधरीले बताए ।
भवन निर्माणसँगै केन्द्रलाई थारु समुदायको मौलिक सांस्कृतिक गतिविधि, भाषा, कला, परम्परा तथा सामाजिक रीतिरिवाजको संरक्षण र प्रवद्र्धन गर्ने साझा थलोका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ । यसले थारु समुदायको सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न सहयोग पुग्ने विश्वास लिइएको छ।
भवन उद्घाटनको अवसरमा मंगलबारदेखि केन्द्र परिसरमा दुईदिने विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ । कार्यक्रम अन्तर्गत बुधबार उक्त क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउँदै आएको सामाचकेवा पर्वको विशेष प्रदर्शन गरिने अध्यक्ष चौधरीले जानकारी दिए ।
थारु समुदायको मौलिक सांस्कृतिक सम्पदाको संरक्षणसँगै स्थानीय कला, परम्परा र सांस्कृतिक विविधताको प्रवद्र्धनमा समेत केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीयवासीहरु बताउँछन् ।


