२०८३ मंसिर ९, बुधवार ०७:१८

जनकपुरधाम र अयोध्याबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सञ्चालन गरिएको रेल सेवामार्फत करिब ४०० भारतीय तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

लामो समयदेखि प्रतीक्षामा रहेको जनकपुरधाम–अयोध्याधाम रेल सेवा ‘सरयू– कमला एक्सप्रेस’ जनकपुरधाम आइपुगेपछि दुई धार्मिक सहरबीचको आवागमन सहज हुनुका साथै धार्मिक पर्यटन प्रवद्र्धनको नयाँ सम्भावना खुलेको छ । जनकपुरधाममा आइपुगेका तीर्थयात्रीलाई सयपत्री फूलको माला तथा खादाले स्वागत गरिएको थियो । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रम, रोजगार तथा युवा मन्त्री रामजी यादवले संयुक्त रूपमा तीर्थयात्रीको स्वागत गरेका थिए । उनीहरूको स्वागतका लागि स्टेसन परिसरमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

स्वागत समारोहमा श्रममन्त्री रामजी यादवले जनकपुरधाम–अयोध्या रेल सेवा नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण माध्यम भएको बताए । उनले यस सेवाले धार्मिक पर्यटन प्रवद्र्धनसँगै व्यापार, रोजगारी र उद्यमशीलताका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे । जनकपुरधाम र अयोध्याबीचको सम्बन्ध यातायातमा मात्र सीमित नभई पारिवारिक, सांस्कृतिक, धार्मिक र भावनात्मक सम्बन्धसमेत रहेको उल्लेख गर्दै उनले रेल सेवाले दुवै देशका नागरिकबीचको आत्मीयता अझ मजबुत बनाउने बताए । उनले भने, ‘अयोध्या र जनकपुरधामबीचको सम्बन्ध दुई सहरको सम्बन्ध मात्र नभई बेटी–ज्वाइँ, परिवार, संस्कृति, परम्परा, आस्था र आत्मीयताको सम्बन्ध हो ।’ विवाहपञ्चमी महोत्सव नजिकिँदै गरेको अवस्थामा अयोध्याबाट जनकपुरधाम आउने श्रद्धालु तथा भक्तजनका लागि रेल सेवा निकै उपयोगी हुने मन्त्री यादवको भनाइ थियो । रेल सेवाले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्नुका साथै स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला, होमस्टे र साना व्यवसायको विकासमा समेत योगदान पु¥याउने उनले अपेक्षा गरे ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अयोध्या–जनकपुरधाम रेल सम्पर्क विस्तारले नेपाल र भारतबीचको यातायात सहकार्य, धार्मिक पर्यटन तथा आर्थिक विकासलाई थप गति दिने बताए । रेल सेवा सञ्चालनका लागि ऐतिहासिक पहल गरेकोमा दुवै देशका प्रधानमन्त्री तथा सम्बन्धित निकायप्रति उनले आभार व्यक्त गरे । मुख्यमन्त्री यादवले नेपाल–भारतबीचको ‘बेटी–र ोटी’ सम्बन्धलाई व्यवहारमा सहज बनाउन सीमापार आवागमनका अवरोध हटाउनुपर्नेमा जोड दिए । अयोध्याबाट सिधै जनकपुरधाम रेल आइपुग्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले मिथिलावासीको लामो समयदेखिको चाहना पूरा भएको बताए । अब जनकपुरधाम र अयोध्यालाई रेलमार्गसँगै हवाईमार्गबाट समेत जोड्नुपर्ने उनको धारणा थियो । उनले रेलमार्गबाट आउने तीर्थयात्रीलाई सहज भए पनि सडकमार्ग हुँदै नेपाल आउने भारतीय पर्यटकले सीमा क्षेत्रमा भन्सार प्रक्रियाका कारण सास्ती खेप्नुपरेको बताए । भारतीय पर्यटक बोकेर आउने बसलाई २४ घण्टासम्म भन्सार छुटको व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गर्दै उनले पर्यटक बोकेका सवारीसाधनलाई अनावश्यक प्रशासनिक प्रक्रियामा अल्झाउन नहुने बताए ।

त्यस्तै जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले भगवान् श्रीराम र माता सीताको वैवाहिक सम्बन्धले जोडिएका जनकपुरधाम र अयोध्यालाई रेलमार्गले जोड्ने पहल दुवै देशका नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको बताए ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार १७ वटा डब्बासहितको सरयू–कमला एक्सप्रेस मंगलबार बिहान ९ः१५ बजे जनकपुरधाम रेल्वे स्टेसन आइपुगेको थियो । रेलमा आएका भारतीय रेल्वे कम्पनीका प्रतिनिधि तथा तीर्थयात्रीलाई स्वागत तथा सम्मान गरिएको थियो । तीर्थयात्रीका लागि जानकी मन्दिरलगायत जनकपुरधामका प्रमुख धार्मिकस्थलमा पूजाआजा तथा दर्शनको व्यवस्था मिलाइएको थियो । स्वागत, सम्मान र धार्मिकस्थलको दर्शनपछि उनीहरूलाई मंगलबार नै पुनः बिदाइ गरिएको प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिए ।

नेपाल–भारत सरकारको सहयोगमा आधुनिक ब्रोडगेज रेलमार्ग निर्माण तथा विस्तार भएपछि सन् २०२२ मा जयनगर–कुर्था रेल सेवा पुनः सञ्चालनमा आएको थियो । त्यसको एक वर्षपछि जनकपुरधामस्थित कुर्थाबाट भंगहा–बिजलपुरासम्म रेल सेवा विस्तार गरिएको थियो । सरयू–कमला एक्सप्रेसको सञ्चालनले अब जनकपुरधाम र अयोध्याबीचको धार्मिक सम्बन्धलाई प्रत्यक्ष यातायात सम्पर्कसँग जोडेको छ ।

Comment

Related News

Latest News

Trending News