दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो। इजलासले उक्त विवादको निरूपण मुद्दाको अन्तिम सुनुवाइकै बखत हुने ठहर गरेको छ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो। सोही बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको थियो।
सर्वोच्चको यो आदेशसँगै नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई प्रहरी नेतृत्वमा काम गर्न बाटो खुलेको छ।

