२०८३ मंसिर १०, बिहिवार ०७:१८

सुनको मूल्यमा आएको उच्च गिरावटसँगै सुनचाँदी धितो राखेर कर्जा लिएका ऋणीमाथि दबाब बढेको छ । धितोको बजार मूल्य घटेपछि बैंक तथा वित्तीय संस्थाहरूले केही ऋणीलाई थप धितो राख्न वा कर्जाको रकम घटाउन ‘मार्जिन कल’ गर्न थालेका छन् । यद्यपि बैंकहरूले सुनचाँदी धितोमा प्रवाह गरेको कर्जामा तत्काल ठूलो जोखिम नरहेको दाबी गरेका छन् ।

गत सातासम्म लगातार ओरालो लागेको सुनको मूल्य पछिल्लो दुई दिनमा केही सुधार भएको छ। नेपाली बजारमा १० महिनाअघि प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको सुनको मूल्य गत आइतबार २ लाख ४२ हजार ८०० रुपैयाँमा झरेको थियो । उच्च बिन्दुबाट सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँसम्म घटेपछि सुन धितोमा कर्जा लिएका ग्राहक प्रभावित भएका हुन् । बैंकहरूले सामान्यतया धितोमा राखिएको सुनको मूल्यांकनका आधारमा ७० देखि ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएका छन् । तर बजार मूल्यमा उल्लेख्य गिरावट आएपछि कर्जा र धितोको अनुपात कायम राख्न ग्राहकलाई थप सुन राख्न वा ऋणको केही रकम भुक्तानी गर्न आग्रह गरिएको छ ।

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले सुनको मूल्य घट्दा मार्जिन कल गर्नु सामान्य बैंकिङ प्रक्रिया भएको बताए । उनका अनुसार सुनको मूल्य लामो समय प्रतितोला २ लाख ९० हजारदेखि ३ लाख १० हजार रुपैयाँको बीचमा रहेर एक्कासि २ लाख ४० हजारको हाराहारीमा झरेपछि केही ग्राहकलाई थप धितो राख्न भनिएको छ । उनले बैंकले गहनामा ७० प्रतिशत र हलमार्क सुनमा ८० प्रतिशतसम्म कर्जा दिने गरेको जानकारी दिए । कर्जा प्रवाह गर्नुअघि सुनको परीक्षण गरी जर्ती कटाएर सुरक्षित मार्जिन राखिने भएकाले बैंकलाई ठूलो जोखिम नरहेको उनको भनाइ छ । केही ग्राहकलाई ५ देखि १० हजार रुपैयाँदेखि बढीमा १ लाख रुपैयाँसम्म थप धितो राख्न वा कर्जा घटाउन आग्रह गरिएको उनले बताए ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले भने आफ्नो बैंकको सुनचाँदी धितो कर्जामा तत्काल मार्जिन कल गर्नुपर्ने अवस्था नरहेको बताए । उनका अनुसार बैंकले औसतमा प्रतितोला १ लाख ६० हजार रुपैयाँसम्म मात्र कर्जा लगानी गरेको छ । गहनामा जर्ती कटाएर ७० प्रतिशतसम्म कर्जा दिने नीतिका कारण सुनको मूल्य प्रतितोला २ लाख २० हजार रुपैयाँसम्म झर्दा पनि बैंकको कर्जा सुरक्षित रहने उनको दाबी छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सुनचाँदी धितो कर्जाको एकल ग्राहक सीमा ५० लाख रुपैयाँ कायम गरिएको छ । धितोमा राखिएको सुन वा चाँदीको परीक्षण गरी कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । साथै धितोको मूल्यांकन, सुरक्षा, ढुकुटी बीमा तथा जाँचकीसम्बन्धी आवश्यक व्यवस्था गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असार मसान्तमा यस्तो कर्जा १ खर्ब २५ अर्ब ९४ करोड रुपैयाँ थियो ।

गत वर्षको असोजमा भने ८६ अर्ब ४० करोड रुपैयाँ मात्रै रहेको थियो । यसअनुसार एक वर्षमा सुनचाँदी धितो कर्जा ५० प्रतिशतभन्दा बढीले बढेको छ । सुनचाँदी धितोमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् । असोज मसान्तसम्म नेपाल बैंकले ५५ अर्ब ९४ करोड, राष्ट्रिय वाणिज्य बैंकले ४२ अर्ब ५५ करोड ९० लाख र प्राइम कमर्सियल बैंकले १० अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नबिल बैंकको यस्तो कर्जा ४ अर्ब २ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नुमा विश्व सेयर बजारको गिरावट, तरलताको माग, अमेरिकी डलरको मजबुती र ब्याजदर बढ्ने अपेक्षालाई प्रमुख कारण मानिएको छ । प्रविधि तथा कृत्रिम बौद्धिकता -एआई) सम्बन्धी कम्पनीको सेयर मूल्य घटेपछि लगानीकर्ताले घाटा पूर्ति गर्न सुन बिक्री गर्दा बजारमा बिक्री चाप बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, अमेरिका–इरान तनावका कारण बढेको तेलको मूल्य र मुद्रास्फीतिको दबाबले अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउन सक्ने अनुमानले पनि सुनको आकर्षण घटाएको छ । आगामी दिनमा अमेरिकी मुद्रास्फीतिसम्बन्धी तथ्यांक र ब्याजदरसम्बन्धी निर्णयले सुनको मूल्यको दिशा निर्धारण गर्ने देखिन्छ ।

Comment

Related News

Latest News

Trending News