प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को भर्खरै सकिएको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार सहकार्य अन्तर्गत बनेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दोस्रो चरणको आयोजनाको सोमबार (मंसिर ७) औपचारिक उद्घाटन भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा संयुक्त रूपमा स्विच थिच्दै दोस्रो चरणअन्तर्गतका पूर्वाधारको उद्घाटनसँगै सञ्चालनमा आएको छ । दोस्रो चरणको पाइपलाइन बनेपछि पेट्रोल आयात सुरु भइसकेको जानकारी नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले दिएका छन् । ‘यसबाट पेट्रोल आयात सुरु भइसकेको थियो । आज दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो,’ उनले भने, ‘आज नयाँ पाइपलाइन सञ्चालनको सुरुवातभन्दा पनि बनिसकेको आयोजनाको औपचारिक उद्घाटन भएको हो ।’ नेपालमा पेट्रोलियम पदार्थको सहज, सुरक्षित र कम लागतमा आपूर्ति गर्ने उद्देश्यले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजना अघि बढाइएको थियो । नेपाल र भारतबीच सन् २०१४ अगस्टमा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि भारतीय आयल कर्पोरेसन (आईओसी) र नेपाल आयल निगमको सहकार्यमा आयोजना अघि बढेको थियो । निकै चर्चामा रहेका दोस्रो चरणअन्तर्गत अमलेखगञ्ज डिपोमा डिजेल र पेट्रोल भण्डारणका लागि चारवटा नयाँ भण्डारण ट्यांकी निर्माण गरिएका छन् ।
त्यसैगरी एउटै पाइपलाइनबाट पेट्रोल र डिजेल पठाउँदा बीचमा मिसिन सक्ने इन्धन छुट्टै भण्डारण तथा व्यवस्थापन गर्न दुईवटा साना ट्रान्समिक्स ट्यांकी निर्माण गरिएको छ । यसबाहेक विद्युतीय प्रणाली सञ्चालन गर्न पीएमसीसी भवन, ट् यांकर जाँच गर्ने गार्ड हाउस, कन्ट्रोल रुम, स्वचालित लोडिङ बे हाउस, पम्पिङ तथा अन्य आवश्यक प्राविधिक पूर्वाधार पनि निर्माण भएका छन् । पाइपलाइनबाट इन्धनको छुट्टाछुट्टै व्यवस्थापन, परीक्षण र वितरण गर्न सक्ने गरी डिपोको प्रणाली स्तरोन्नति गरिएको हो । यसले एउटै पाइपलाइनबाट फरक– फरक पेट्रोलियम पदार्थ आयात गर्न सम्भव बनाएको छ ।
दोस्रो चरण सञ्चालनमा आएपछि अमलेखगञ्ज डिपोको भण्डारण तथा वितरण क्षमता थप विस्तार भएको छ । उक्त डिपोले नेपालको कुल पेट्रोलियम पदार्थको मागको करिब ७५ प्रतिशतसम्म आपूर्ति व्यवस्थापन गर्दै आएको ठाकुरले जानकारी दिए । अमलेखगञ्जबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्जलगायत स्थानमा पेट्रोलियम पदार्थ वितरण हुँदै आएको छ । डिपो प्रमुखका अनुसार, यहाँबाट देशका करिब २० जिल्लाका सरकारी तथा निजी पेट्रोल पम्पमा इन्धन आपूर्ति हुने गरेको छ । पाइपलाइन चौबिसै घण्टा सञ्चालन गर्न सकिने भएकाले सडकमार्गमा ट्यांकरको उपलब्धता र आवागमनमा निर्भर हुनुपर्ने अवस्था पनि घटेको छ ।
निगमका अनुसार, पाइपलाइन सञ्चालन हुनुअघि भारतको बरौनीबाट अमलेखगञ्जसम्म पेट्रोल ल्याउँदा प्रतिलिटर करिब तीन रुपैयाँ ढुवानी खर्च लाग्ने गरेको थियो । पाइपलाइनमार्फत पेट्रोल ल्याउँदा उक्त खर्च घटेर प्रतिलिटर करिब ५० पैसामा सीमित भएको छ । यसले प्रतिलिटर करिब दुई रुपैयाँ ५० पैसा ढुवानी खर्च बचत गरेको छ । त्यस्तै, पहिले मोतिहारी तथा अन्य भारतीय डिपोबाट ट्यांकरमार्फत इन्धन ढुवानी गर्दा लाग्ने इन्धन खर्च र ढुवानी भाडाबापत मासिक करिब १५ करोड रुपैयाँ खर्च हुने गरेकामा हाल वार्षिक करिब एक अर्ब ८० करोड रुपैयाँ बचत भइरहेको निगमको भनाइ छ ।
पाइपलाइन सञ्चालनपछि पेट्रोलियम पदार्थको चोरी, चुहावट तथा ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीसमेत घटेको छ । त्यसैगरी पाइपलाइन सञ्चालनले वीरगञ्ज–रक्सौल नाकामा हुने ट्याङ्करको चाप कम गर्न सहयोग पु¥याएको छ। पहिले भारतबाट पेट्रोलियम पदार्थ बोकेका ट् याङ्करहरू नेपाल प्रवेश गरी डिपोसम्म पुग्नुपर्ने अवस्था थियो । यसले सीमा नाकामा सवारी चाप बढाउनुका साथै ढुवानीमा समय र लागत दुवै बढाउँथ्यो । पाइपलाइनबाटै इन्धन अमलेखगञ्जसम्म आइपुग्ने भएपछि त्यहाँबाट आवश्यकताअनुसार अन्य डिपोमा वितरण गर्न सहज भएको छ । यसले आपूर्ति व्यवस्थालाई नियमित, व्यवस्थित र तुलनात्मक रूपमा कम खर्चिलो बनाएको छ ।
सडकमार्गबाट हुने ढुवानीमा निर्भरता घट्दा सडक अवरोध, ट् यांकर अभाव र अन्य प्राविधिक समस्याका कारण आपूर्ति प्रभावित हुने जोखिमसमेत कम भएको छ । दोस्रो चरणको निर्माण तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला ०८० जेठ १८ मा नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विस्तारसम्बन्धी महत्त्वपूर्ण समझदारी भएको थियो । पहिलो चरणको काम सन् २०१८ अप्रिल ७ मा औपचारिक रूपमा सुरु भएको थियो । भारतको बिहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म ६९ किलोमिटर लामो पाइपलाइन निर्माण गरिएको हो । यसमध्ये भारततर्फ ३२.७ किलोमिटर र नेपालतर्फ ३६.२ किलोमिटर पाइपलाइन पर्छ । करिब १० इन्च व्यासको उक्त पाइपलाइनको वार्षिक ढुवानी क्षमता २० लाख मेट्रिक टन छ । पहिलो चरण आयोजना सकिएपछि सन् २०१९ सेप्टेम्बर १० मा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत संयुक्त रूपमा पाइपलाइनको उद्घाटन गरेका थिए ।

