चालु सिजनका लागि उखुको न्यूनतम खरिद मूल्य निर्धारण गर्ने विषयमा सरकार र किसानबीच मतभेद चर्किएको छ । कृषि मन्त्रालयले किसान र चिनी उद्योगीबीच सहमति जुटाउन प्रतिक्वीन्टल ६५० रुपैयाँ आसपासको मूल्य प्रस्ताव अघि बढाउने तयारी गरिरहँदा उखु उत्पादक किसानले भने सरकारी प्रस्ताव अस्वीकार गरेका छन् ।
सरकारले मूल्य निर्धारण प्रक्रिया अन्तिम चरणमा पुगेको र एक–दुई दिनभित्र मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने तयारी गरेको जनाएको छ । तर, किसानले सरकारी अनुदानसहित प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ पाउनुपर्ने अडान दोहो¥याउँदै माग पूरा नभए चिनी मिल सञ्चालन हुन नदिने चेतावनी दिएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सूचना अधिकारी डा. मणिरत्न अर्यालका अनुसार पछिल्लो छलफलमा किसान पक्ष ६७० रुपैयाँसम्म झर्न तयार देखिएको छ भने उद्योगीहरू ६४० रुपैयाँसम्म दिन सकिने अवस्थामा पुगेका छन् । दुवै पक्षको अडानबीच ६५० रुपैयाँ आसपासमा सहमति खोज्ने प्रयास भइरहेको उनले बताए । ‘किसान पक्षबाट अहिले ६७० रुपैयाँसम्म भन्नुभएको छ । मूल्य दिने मन्त्रालयले होइन, किन्ने उद्योगीले हो । उद्योगीसँग छलफल हुँदा उहाँहरू ६४० रुपैयाँसम्म जान सकिन्छ भन्दै हुनुहुन्छ,’ अर्यालले भने ।
मन्त्रालयले दुवै पक्षको मध्यविन्दुका रूपमा ६५० रुपैयाँ आसपासको मूल्य निर्धारण गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने तयारी गरेको छ । त्यसअघि किसानलाई उपलब्ध गराइने प्रोत्साहन अनुदानका लागि अर्थ मन्त्रालयसँग सहमति लिने प्रक्रिया अघि बढाइएको अर्यालले जानकारी दिए । तर, उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले मन्त्रालयको प्रस्ताव किसानले अस्वीकार गरिसकेको बताए । उनका अनुसार पछिल्लो छलफलमा उद्योगीहरूले २० रुपैयाँभन्दा बढी मूल्य बढाउन नसकिने अडान राखेका थिए । कृषि मन्त्रालयका सचिवले पनि गत वर्षको ६२० रुपैयाँमा ३० रुपैयाँ थप गरी ६५० रुपैयाँ पु¥याउने प्रस्ताव गरेका थिए । ‘हामीले प्रस्ताव मानेनौँ । तपाईं सिफारिस गर्नुस्, हामीलाई मतलब छैन, हामी मिलमा आन्दोलन गर्छौं भनेर हिँड्यौं,’ रायले भने । उनले जनाए अनुसार सरकारी अनुदानसहित प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ पाउनुपर्ने किसानको माग यथावत् छ । बजारमा चिनी प्रतिकिलो १२० देखि १३० रुपैयाँसम्म बिक्री भइरहेको र भारतमा समेत चिनीको मूल्य उल्लेख्य बढेको अवस्थामा किसानलाई ३० रुपैयाँ मात्रै वृद्धि गर्नु अन्यायपूर्ण भएको उनको तर्क छ ।
भारत सरकारको उपभोक्ता मामिला विभागको २३ नोभेम्बर २०२६ को तथ्यांकअनुसार त्यहाँ चिनीको औसत खुद्रा मूल्य प्रतिकिलो ६०.८५ भारु र थोक मूल्य ५६.४५ भारु पुगेको छ । अघिल्लो वर्षको तुलनामा खुद्रा मूल्य ३२.०५ र थोक मूल्य ३१.२५ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । चिनीको बजार मूल्य र उखुको खरिद मूल्यबीच सन्तुलन कायम गर्न आपूर्ति मन्त्रालयलाई समेत छलफलमा सहभागी गराउन आफूले आग्रह गरे पनि सुनुवाइ नभएको रायको आरोप छ । किसानका समस्या सुनाउन कृषि मन्त्री गीता चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटका लागि समय माग्दा पनि नपाएको उनले गुनासो गरे ।
सरकारको आगामी निर्णयपछि आन्दोलनका कार्यक्रम घोषणा गर्ने किसानको तयारी छ । ‘किसानको माग अनुसार मूल्य नतोकेसम्म हामी उद्योग चल्न दिँदैनौं, मिल सञ्चालन हुन दिँदैनौं,’ रायले भने । यसैबीच, मन्त्रालयले उखुको जातअनुसार थप रकम उपलब्ध गराउने विषयमा पनि छलफल गरिरहेको छ । हाल उन्नत जातको उखु लगाउने किसानलाई प्रतिक्विन्टल १५ देखि २० रुपैयाँसम्म थप दिने अभ्यास छ । यस वर्ष उद्योगीहरूले कम्तीमा २५ रुपैयाँ थप गर्नुपर्ने प्रस्ताव गरेका छन् भने किसानले ५० रुपैयाँ माग गरेका छन् ।
यस वर्षको अनुभवका आधारमा आगामी वर्षदेखि उखुको जातअनुसार छुट्टाछुट्टै मूल्य निर्धारण गर्ने मन्त्रालयको योजना छ । गत भदौदेखि शुरु भएको मूल्य निर्धारण प्रक्रिया अन्तर्गत कृषि विभागले तराई–मधेशका ११ जिल्लामा अध्ययन गरी प्रतिक्वीन्टल ६२८ रुपैयाँ खरिद मूल्य प्रस्ताव गरेको थियो । गत वर्ष उद्योगीले दिने मूल्य ६२० रुपैयाँ र सरकारी अनुदान ७० रुपैयाँ गरी किसानले कुल ६९० रुपैयाँ पाएका थिए । यस वर्ष विभागले प्रस्ताव गरेको मूल्य गत वर्षको तुलनामा जम्मा आठ रुपैयाँ मात्रै बढी हुने भएपछि किसानले पहिलो चरणको वार्ता बहिष्कार गरेका थिए । त्यसपछि मन्त्रालयले पुनः वार्ता बोलाएको थियो । तर, सरकारी पक्षले सहमतिको नजिक पुगेको दाबी गरे पनि किसानको असन्तुष्टि कायमै रहेकाले उखु मूल्य विवाद तत्काल समाधान हुने संकेत देखिएको छैन ।

