२०८३ मंसिर ११, शुक्रवार ०७:१७

नेपाली कांग्रेसको देउवा समूहमा सभापति पदका लागि नेता विमलेन्द्र निधिको उम्मेदवारीबारे चर्चा चुलिएको छ । मधेश प्रदेशका आठवटै जिल्लाका सभापतिले सामूहिक रूपमा सभापति पदमा उम्मेदवारी दिन आग्रह गरेपछि निधि चुनावी तयारीमा जुटेका हुन्। उनले आफ्नो उम्मेदवारीलाई बलियो बनाउन पार्टीका पूर्वमहामन्त्री शशांक कोइरालासँग समेत समर्थन मागेका छन् ।

देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनमा निधिले सभापति पदमा प्रतिस्पर्धा गर्ने तयारी थालेका छन् । यसका लागि उनले आफूनिकट नेताहरूसँग छलफल अघि बढाउनुका साथै पार्टीभित्र समर्थन जुटाउने प्रयास गरिरहेका छन् । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालालाई १५औँ महाधिवेशन तयारी समितिको संयोजक बनाएको छ । उनकै नेतृत्वमा महाधिवेशनसम्बन्धी तयारीका काम भइरहेका छन् । यही क्रममा बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा तयारी समितिको बैठक बस्नुअघि निधि र कोइरालाबीच भेटवार्ता भएको थियो । भेटघाटका क्रममा निधिले आफू सभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेको जानकारी गराउँदै कोइरालासँग सहयोग र समर्थन मागेका थिए ।

उनले १४औँ महाधिवेशनमा आफूले देउवासँग सभापति पदमा प्रतिस्पर्धा गरेको स्मरण गराएका थिए । त्यतिबेला आफूहरूको सहयोगकै कारण देउवा सभापति निर्वाचित भएको उनको भनाइ थियो। त्यसैगरी, विगतमा आफूहरूले कोइरालालाई महामन्त्री बनाउन सहयोग गरेको र अहिले महाधिवेशन तयारी समितिको संयोजक बनाइएको प्रसंग पनि निधिले उठाएका थिए । पार्टीमा विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको र अघिल्लो महाधिवेशनमा समेत सभापति पदमा प्रतिस्पर्धा गरिसकेकाले यसपटक आफ्नो उम्मेदवारी स्वाभाविक भएको उनको तर्क थियो । तर, निधिले समर्थन मागे पनि कोइरालाले कुनै स्पष्ट जवाफ दिएनन् । निधिनिकट एक नेताका अनुसार कोइरालाले उनको कुरा सुने पनि आफ्नो धारणा भने सार्वजनिक गरेनन् । निधिले आफूनिकट नेताहरूलाई समेत सभापति पदमा उम्मेदवारी दिने तयारीअनुसार संगठनात्मक गतिविधि अघि बढाउन निर्देशन दिइसकेका छन् । मधेश प्रदेशका आठवटै जिल्लाका सभापतिले दिएको सुझावले पनि उनलाई उम्मेदवारीका लागि थप उत्साहित बनाएको नेताहरूको भनाइ छ । देउवा समूहमा सभापति पदका आकांक्षीको संख्या बढ्दै गएको छ । निधिसँगै शशांक कोइराला, प्रकाशशरण महत र एनपी साउदको नाम पनि चर्चामा छ । शशांक स्वयं पनि सभापति पदका आकांक्षी हुन् ।

देउवा समूहले अहिलेसम्म ६० भन्दा बढी जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ भने दुई प्रदेशको अधिवेशन पनि सकिएको छ । तल्लो तहका अधिवेशन सम्पन्न हुँदै गएपछि अब केन्द्रीय नेतृत्व चयनका विषयमा पनि नेताहरूबीच छलफल हुन थालेको छ । देउवानिकट नेताहरूका अनुसार देउवाले आफूलाई नै सभापतिको उत्तराधिकारी बनाउने विश्वास शशांकमा छ । गत साउनको राष्ट्रिय सम्मेलनबाट शशांकलाई महाधिवेशन तयारी समितिको संयोजक बनाउनुको अर्थ आगामी नेतृत्वमा पनि उनलाई अघि सार्ने संकेतका रूपमा बुझ्नुपर्ने शशांशनिकट एक नेताको भनाइ छ । यद्यपि, सभापति पदका आकांक्षीहरूलाई व्यवस्थापन गर्न र पार्टीलाई थप समावेशी बनाउन विधान संशोधनको तयारीसमेत भइरहेको छ । प्रदेश तहसम्म पदाधिकारीको संख्या बढाइए पनि केन्द्रीय पदाधिकारीको संख्या थप्ने र केन्द्रीय कार्यसमितिको आकार विस्तार गर्ने विषयमा भने छलफल हुन बाँकी छ । देउवा समूहले अहिलेसम्म वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन सहमतिका आधारमा सम्पन्न गर्दै आएको छ। केन्द्रीय महाधिवेशन पनि सहमतिमै टुंग्याउने प्रयास भइरहेको छ । तर, निधिले सभापतिमा उम्मेदवारी दिने तयारी गरेपछि नेतृत्व चयनका लागि निर्वाचन हुन सक्ने सम्भावना पनि बढेको छ ।

विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच १३औँ महाधिवेशनदेखि नै सभापतिमा साझा उम्मेदवार तय गर्ने विषयमा पटक–पटक छलफल हुँदै आएको थियो । उनीहरूबीच एकअर्काको निवासमा भेटघाट र लन्च मिटिङसमेत हुने गरेको थियो । तर, २०७८ मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनमा निधि र प्रकाशमान सिंह दुबैले सभापति पदमा उम्मेदवारी दिए । त्यसपछि पनि उनीहरूबीच भेटघाट र छलफल जारी रह्यो । अहिले निधि र शशांक दुवैले सभापति बन्ने आकांक्षा देखाएपछि पुरानो सहकार्य प्रतिस्पर्धामा परिणत हुन सक्ने अवस्था देखिएको छ । प्रकाशमान सिंहले भने आफ्नो उम्मेदवारीबारे अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् । यता, देउवा समूहका केही नेताहरूले भने पार्टीभित्रका सबै पक्षलाई समेटेर सहमतिमै सभापति र पदाधिकारी चयन गर्ने प्रयास भइरहेको बताएका छन् ।

देउवानिकट एक नेताका अनुसार प्रदेश अधिवेशन सम्पन्न भएपछि देउवाकै उपस्थितिमा पार्टीको भावी नेतृत्वबारे छलफल गर्ने तयारी छ । ती नेताका अनुसार पदाधिकारीको संख्या र केन्द्रीय कार्यसमितिको आकार विस्तार गर्न सके धेरै आकांक्षीलाई व्यवस्थापन गर्न सकिनेछ । अहिले कसलाई सभापति बनाउने वा कसलाई पदाधिकारी बनाउने भन्ने विषयमा औपचारिक छलफल सुरु भइसकेको छैन । देउवाले नेताहरूसँगको भेटमा सहमति हुन नसके निर्वाचनमार्फत नेतृत्व चयन गर्न सकिने संकेत दिएको पनि पदाधिकारीका एक आकांक्षीले बताएका छन् ।

Comment

Related News

Latest News

Trending News