परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदनका बिषयमा दुवै पक्षको सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको जनाएको छ ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्री समक्ष पेस गर्न समय प्राप्त हुने अपेक्षा रहेको बताउनुभयो । उक्त बिषय पनि नयाँ म्यान्डेट र दृष्टिकोणअनुसार अघि बढ्ने विश्वास रहेको उहाको भनाइ छ । प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले भने ईपीजी प्रतिवेदन अव सान्दर्भिक नरहेको प्रतिक्रिया दिइसकेको छ । प्रवक्ता पौडेलले सीमासम्बन्धी विषय जोइन्ट भिजन डकुमेन्टमा समेटिएको, संयुक्त स्थलगत निरीक्षण र सीमा स्तम्भ मर्मत–सम्भारको कार्य उल्लेख गरिएकाले परराष्ट्र र भारतीय विदेश सचिवस्तरीय बैठकमार्फत कूटनीतिक समाधान खोजिने बताउनुभयो ।
त्यस्तै उहाले साउदी अरबको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट र जजान क्षेत्रमा भएका पछिल्ला दुई आक्रमणमा घाइते चार नेपाली नागरिकमध्ये रियादस्थित अस्पतालमा उपचारका क्रममा एक जनाको निधन भएको जानकारी दिनुभयो । निधन भएका व्यक्तिको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरु गरिएको उहाले बताउनुभयो ।
विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको र समस्याको समाधान शान्तिपूर्ण वार्ता तथा कूटनीतिक माध्यमबाट हुनुपर्नेमा मन्त्रालयको स्पष्ट जोड रहेको उहाले बताउनुभयो ।

