मलेसिया जाने नेपाली श्रमिकबाट अतिरिक्त बायोमेडिकल सेवा शुल्क असुली गरी रकम गैरकानुनी रूपमा विदेश पठाएको आरोपमा भइरहेको अनुसन्धान थप फराकिलो बनेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्वमन्त्रीसहित यसअघि १० जनालाई पक्राउ गरिसकेकोमा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई समेत नियन्त्रणमा लिएको छ । यस प्रकरणको अनुसन्धानका कारण मेडिकल स्क्रिनिङ रोकिएपछि दुई महिनादेखि नेपाली श्रमिक मलेसिया जान पाएका छैनन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा गरेको निर्णयका आधारमा अर्याल पक्राउ परेका हुन् । अवैध रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको र आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा भूमिका रहेको आरोपमा उनलाई विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । यसअघि प्रहरीले पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, पूर्वसचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुंगाना र राजीव पोखरेल, पूर्वकानुन अधिकृत निर्मला गुरुङ तथा चार व्यवसायीलाई पक्राउ गरेको थियो।
म्याक्रोटेकका सञ्चालकमध्ये एक कैलाश खड्का पनि पक्राउ परिसकेका छन् । सीआईबीले नेपाल र मलेसियाबीच भएको श्रम समझदारी तथा कानुनी प्रक्रिया मिचेर विदेशी मुद्रा अपचलन गरेको, संगठित समूहको लाभका लागि श्रमिकबाट अतिरिक्त रकम असुलेको र त्यसविरुद्ध कानुनी उपचार नगरेको आरोपमा अनुसन्धान गरिरहेको छ । विवादको पृष्ठभूमि सन् २०१५ देखि सुरु भएको हो। मलेसियाले नेपालसहित १२ श्रमिक स्रोत मुलुकमा मेडिकल स्क्रिनिङका लागि प्रतिव्यक्ति एक सय रिंगेट शुल्क तोकेको थियो ।
तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले २०७५ जेठ ३ मा श्रमिकमाथि आर्थिक भार पर्ने भन्दै माइग्राम्स, स्वास्थ्य परीक्षण, ओएससी, भीएलएन र जीएसजीसम्बन्धी शुल्क खारेज गरेपछि मलेसियाको रोजगारी १९ महिनासम्म बन्द भएको थियो । त्यसपछि नेपाल र मलेसियाबीच श्रम समझदारी कार्यान्वयनका लागि संयुक्त कार्य समूह (जेडब्लूजी) गठन भयो । २०७५ कात्तिक १२ मा बसेको पहिलो बैठकले मेडिकल स्क्रिनिङअन्तर्गत बायोमेडिकल सेवा शुल्क लिने नीतिगत निर्णय गरेको थियो। त्यसअनुसार श्रमिकले एक सय रिंगेट बायोमेडिकल शुल्क र एक सय ६० रिंगेट स्वास्थ्य परीक्षण शुल्क गरी कुल दुई सय ६० रिंगेट तिर्नुपर्ने व्यवस्था भयो । यो रकम मलेसिया पुगेपछि पहिलो महिनाको तलबमार्फत रोजगारदाताले श्रमिकलाई शोधभर्ना गर्ने सहमति थियो ।
सन् २०१९ सेप्टेम्बरदेखि २०२४ मार्चसम्म मलेसिया जाने श्रमिकबाट बायोमेडिकल शुल्क संकलन गर्ने जिम्मेवारी मलेसियाको बेस्टिनेटको नेपाली प्रतिनिधि म्याक्रोटेक प्रालिले पाएको थियो । सीआईबीका अनुसार २०७६ साउन १ देखि हालसम्म उक्त कम्पनीमार्फत एक अर्ब ६९ करोड रुपैयाँ विदेश पठाइएको छ । यस प्रक्रियामा गैरकानुनी रूपमा रकम संकलन र विदेश पठाइएको प्रहरीको आरोप छ । तर म्याक्रोटेकले भने दुई देशबीचको समझदारीअनुसार राष्ट्र बैंकमार्फत रकम भुक्तानी गरिएको दाबी गरेको छ । कम्पनीका कानुनी सल्लाहकार मानबहादुर खड्काका अनुसार सेवा शुल्क संकलन गर्न आन्तरिक राजस्व कार्यालयको अनुमति लिइएको थियो ।
मलेसिया रकम पठाउँदा दूतावास, श्रम मन्त्रालय र राष्ट्र बैंकको सिफारिस तथा अनुमति लिइएको उनको भनाइ छ । कम्पनीले करबापत राज्यकोषमा ५९ करोड ६४ लाख रुपैयाँ जम्मा गरेको र स्वास्थ्य संस्थालाई प्राविधिक सहयोग उपलब्ध गराएको दाबी गरेको छ । सीआईबीको मुख्य प्रश्न भने श्रम समझदारीमा बायोमेडिकल सेवा शुल्क लिने स्पष्ट व्यवस्था नभएको विषय हो । प्रहरीका अनुसार समझदारी संशोधन गर्नुपर्ने भए संयुक्त कार्यदलबाट निर्णय हुनुपर्नेमा त्यस्तो प्रक्रिया पूरा नगरी अतिरिक्त शुल्क लिन थालिएको थियो ।
यता पूर्वमहान्यायाधिवक्ता रमेश बडालले भने अनुसन्धानमाथि प्रश्न उठाएका छन् । उनका अनुसार श्रम समझदारी, जेडब्लूजीका पहिलो र दोस्रो बैठकका निर्णय तथा मलेसियाली दूतावासका पत्र अध्ययन नगरी पक्राउ गरिएको छ । यो विषय दुई देशबीचको श्रम सम्झौता कार्यान्वयनसँग सम्बन्धित भएकाले कसुर स्थापित नहुने उनको तर्क छ । स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोट प्रक्रिया पनि अनुसन्धानको दायरामा परेको छ । मलेसियाले सुरुमा ३९ स्वास्थ्य संस्थालाई बायोमेडिकल प्रणालीमा आबद्ध गरेको थियो । पछि तीन संस्था बन्द भएपछि ३६ संस्थाले सेवा दिँदै आएका थिए।
नेपालले थप ८६ संस्थालाई समेट्न प्रस्ताव गरे पनि मलेसियाले तत्कालका लागि ३६ संस्था पर्याप्त रहेको जनाएको थियो । यसैबीच राष्ट्र बैंकका कर्मचारीको भूमिकाबारे पनि सीआईबीले अनुसन्धान गरिरहेको छ । रकम विदेश पठाउँदा प्रयोग भएका पत्र र तोक आदेशका विवरणसमेत खोजिएको छ । केही पत्र हराएको भनिएकाले त्यसबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मलेसियाले सन् २०२४ मार्चदेखि बायोमेडिकल शुल्क श्रमिकबाट लिन बन्द गरेको थियो । त्यसयता नेपालमा सूचीकृत ३६ स्वास्थ्य संस्थाले सरकारद्वारा निर्धारित ६ हजार पाँच सय रुपैयाँमा स्वास्थ्य परीक्षण गर्दै आएका छन् । तर अहिले पुरानो शुल्क संकलन र रकम विदेश पठाउने प्रक्रियामाथि अनुसन्धान अघि बढेपछि मेडिकल स्क्रिनिङ रोकिएको छ । त्यसको प्रत्यक्ष असर नेपाली श्रमिकको वैदेशिक रोजगारीमा परेको छ ।

