२०८३ मंसिर १२, शनिवार ०७:४३

अन्य प्रदेश सरकारहरु जस्तै मधेश प्रदेश सरकार क्रियाशील भएको दश वर्ष बित्न थालेको छ । यस दश वर्षभित्र मधेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ, छोरी बीमा योजना, मुख्यमन्त्री स्वच्छता अभियान, पूर्ण सुरक्षित मातृत्व, पूर्ण खोप, कुपोषणमूक्त प्रदेश अभियान, एक पालिका, एक विशिष्ट उत्पादन, औद्योगिक करिडोर विकास, आत्मनिर्भर र समृद्ध मधेश: सुखी मधेशी, खेत–खेतमा पानी, घर–घरमा खाद्यान्न, महिलाको सीप र साहस, मधेश विकासको विश्वास, शिक्षित छोरी : सुरक्षित मधेश, उद्यमशील नारी : समृद्ध प्रदेश, मेड इन मधेश, फिड फोर नेशन, दलित सशक्तिकरणलगायत अनेकौँ योजना– परियोजना तथा विकास निर्माणसंग सम्बन्धित कार्यक्रमहरु ल्याए ।

तीमध्ये केही सफल भए । केही आर्थिक अनियमितताको आरोपपछि बन्द भए । केहीको नाम परिवर्तन गरियो । केही कार्यान्वयन नै नभइ नारामै सीमित भए, केही जारी पनि छन् । मधेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा विसं २०७५ देखि शुरु भएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान भारतको देखासिकिमा आए पनि यस अभियानले राष्ट्रिय चर्चा बटुलेको थियो । प्रदेशको गौरवको योजनाको नाम दिइएको यस अभियान अन्तर्गत छात्राहरूलाई साइकल वितरण, छोरी शिक्षा बीमा र लोकसेवा तयारी कक्षा जस्ता सकारात्मक कार्यक्रमहरु सञ्चालन गरिएका थिए । तर दुर्भाग्य साइकल खरिदमा भएको अनियमिताको कारण योजना रोकियो । छात्राहरुलाई वितरण गर्न खरिद गरिएका सयौँ साइकल खिया लागेर खेर जाँदैछ ।

ऐतिहासिक स्थल तथा सार्वजनिक पोखरी र मठ–मन्दिरहरूको सरसफाइ, सौन्दर्यीकरण र संरक्षणका लागि ल्याइएको मुख्यमन्त्री स्वच्छता अभियान पनि सकारात्मक उद्येश्यले ल्याइएको थियो । तर धार्मिक, सांस्कृतिक, पुरातात्विक चेतनाको कमिका कारण मठ–मन्दिरको मौलिकता नष्ट गर्ने काम भयो । पोखरी सौन्दर्यीकरणको नाममा डिलहरुमा ईट, ढुंगा र सिमेन्ट थुपारियो । पोखरीको पानी प्रदुषित भयो ।

आजको विषय मधेश प्रदेश सरकारको विकास वा नीति निर्माण भन्दा पनि भौतिक संरचना निर्माणसंग सम्बन्धित छ । नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरेको छ । सरकार भनेको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहितको प्रशासनिक संरचना हो । संघीय सरकारको संघीयता विरोधि सोचका कारण संघीयता कार्यान्वयनमा समस्या उत्पन्न भए पनि प्रदेश सरकारहरुलाई आफ्नो भौतिक संरचना निर्माण गर्न कसैले रोकेको छैन । प्रदेश सरकार गठन भएको पछिल्ला दश वर्षदेखि प्रदेशका अधिकांश मन्त्रालयहरु जनकपुर चुरोट कारखाना परिसर भित्र तथा केही भाडाको भवनमा अन्य यन्त्र संचालित छन् ।

मुख्यमन्त्री, प्रदेश प्रमुख तथा अधिकांश मन्त्रीजीहरु जचुकालिको अतिथि भवन तथा कर्मचारी आवासमा रमाईरहेका छन् । प्रदेश सभा पुरानो शिक्षक प्रशिक्षण केन्द्रमा संचाल नभइ रहेको छ भने सभामुखज्युको आवास त्यही परिसरभित्र छ । हिन्दीमा उखान जस्तै– ‘हिंग लगे ना फिटकिरी…रंग चोखाहो जाय….।’ बनेको संरचनामा अलिअलि टाल टुल गर्यो अनि आरामले बस्यो । मंहगा गाडी, एयर कण्डिशन, सोफा, घुम्ने कूर्सी खरिदमा करोडौं खर्च गर्ने मधेश प्रदेश सरकार एउटै पनि भौतिक संरचना निर्माण गर्न सकेको छैन । चुरोट कारखना सञ्चालन हुनु पर्छ कि पर्दैन ? यो विमर्शको विषय हुन सक्छ । तर उद्योग मन्त्रालय मातहातको यस संरचनाको औद्योगिक प्रयोजनमा प्रयोग हुनु पर्दछ भने आमनागरिकको माग हो । जचुकालिको वर्तमान संरचनामा समय सुहाउँदो उद्योग संचालन गरेर रोजगारी सृजनासंगै पुराना संरचनाको सदुपयोग गर्नु श्रेयस्कर होलाभने मेरो व्यक्तिगत विचार हो ।

शिक्षक तालिम केन्द्र जनकपुर, बारा, पर्सा अथवा सप्तरी जहाँ संचालन भए पनि हुन्छ । तर शिक्षक तालिम प्रयोजनको लागि निर्माण गरिएको यस प्रशिक्षण केन्द्रको प्रयोग विद्यार्थी र शिक्षकहरुको बृति विकासकै लागि हुनु पर्दछ भने आमनागरिकको राय छ । बालबालिका, किशोर किशोरी तथा युवा वर्ग कुलतमा फसिरहेको वर्तमान अवस्थामा बालबालिकाहरुका लागि संरक्षित संरचना चाहिन्छ । जहाँ उनीहरुलाई खेलकुद, गीत–संगीतलगायतका अतिरिक्त क्रियाकलापसंगै शिक्षा–दीक्षा पनि दिन सकियोस् । तर दुर्भाग्यवर्षभरि बजेट कुम्ल्याउने, मन्त्री, मुख्यमन्त्रीबन्ने बनाउँने षडयन्त्रमा लागेका प्रदेश सांसदहरु यी विषयहरुलाई प्राथमिकतामै राख्दैनन् ।

हो, प्रदेश सरकारले जनकपुरधाम–८ रामानन्द चोकस्थित देशकै चर्चित वागवानीको जग्गा मिचेर प्रदेश कृषि निर्देशनालय निर्माण गरेको छ । ट्वीन टावर भनिएको यो जुम्ल्याहा भवन निर्माण भएको तीन–चार वर्ष भयो तर किन हो कुन्नी संचालनमा आउन सकेको छैन । आवश्यक कानून र नियमाबली नै निर्माण गरी प्रदेशभित्र सार्वजनिक यातायात संचालन गर्ने उद्देश्यले पाँचथान वस खरिद गर्यो तर खिया लाग्न थालेपछि तीबसहरु अन्य संस्थाहरुलाई दान दिइयो । प्रदेश सरकारले स्थापना गरेका कृषि विश्वविद्यालय होस् कि स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश विश्वविद्यालय होस् कि मधेश प्रज्ञा प्रतिष्ठान, चलचित्र बोर्ड, मिडिया काउन्सिल वा अन्य संघ संस्थाहरु ।

सबका सब भाडाको भवनमा संचालित हँुदै छ । प्रदेश सरकार भाडाकै शिर्षकमावार्षिक करोडौँ रमक खर्च गर्दै छ । तीनै तहका सरकारसंगको सहकार्य र सहयोगमा नेपाल पत्रकार महासंघ, धनुषा, नेपाल पत्रकार महासंघ, मधेश प्रदेश, मिथिला नाट्यकला परिषद्, मैथिली विकास कोष, रामानन्द युवा क्लबलगायतका संघ संस्थाहरु आफ्नो भवन निर्माण गर्न सक्छ भने मधेश प्रदेश सरकार किन गर्न सकिरहेको छैन ? सरकार संचालनका लागि आवश्यक भौतिक संरचना निर्माणलाई प्रदेश सरकार तथा प्रदेश सांसदहरुले प्राथमिकता नदिनुको कारण संघीयताप्रति आशंका त होइन ? अथवा भाडाका नाममा कमिशनको खेल त चलि रहेको छैन ? आमनागरिक यस कोणबाट पनि विश्लेषण गर्न थालेका छन् । यस अघिका सरकारहरुले विविध प्रयोजनका लागि निर्माण गरेका भौतिक संरचनाहरुको अल्पकालीन प्रयोग नराम्रो होइन ।

फेरि मधेश आन्दोलनको रापतापमा आएको संघीयता कार्यान्वयनमा ती संरचनाहरुको प्रयोग आवश्यक पनि थियो । तर प्रदेश सरकार कार्यान्वयनमा आएको दशवर्ष बितिसक्दा पनि आफ्नो स्थायी संरचना निर्माणतर्फ ध्यान नदिइ पुरानै संरचनामाथि रजगज जमाउने प्रवृतिलाई मैथिलीमा भन्ने गरिन्छ–’कयल–धयलपर जय सियाराम…।’

Comment

Related News

Latest News

Trending News