२०८३ मंसिर १३, आइतवार १०:०३

माता सीता र भगवान श्रीरामको जन्मभूमि जोड्ने गरी शनिवारदेखि व्यवसायिक रुपमा जनकपुरधाम—अयोध्या रेल सरयू—कमला एक्सप्रेस सञ्चालनमा आएको छ ।

रेल सेवा सञ्चालनसँगै माता सीता र भगवान श्रीरामको विवाहको अवसरमा जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको निम्तो पठाइएको छ । सो निमन्त्रणा दिन जनकपुरधामबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहको नेतृत्वमा एक टोली भारतको अयोध्या प्रस्थान गरेका छन् ।

जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा जनकपुरधामको नागरिक समाजका प्रतिनिधिहरू र पत्रकार सम्मिलित टोली रामजन्मभूमि अयोध्याका लागि प्रस्थान गरेको हो । टोलीका नेतृत्वकर्ता जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सव जनकपुरधाम र अयोध्याबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसर भएको बताए ।

त्रेतायुगमा राजा जनकले सीता–राम विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको प्रसंग स्मरण गर्दै उनले सोही परम्परालाई पुनः जीवन्त बनाउन आफूहरू अयोध्या जान लागेको बताए । टोलीले अयोध्याका लागि निमन्त्रणासँगै लत्ताकपडा, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको भारसमेत लगेको छ । जनकपुरधाममा प्रत्येक वर्ष साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवमा सीता–राम विवाहको धार्मिक परम्परालाई जोडन जनकपुरधाम जानकी मन्दिरबाट अयोध्या जन्तीका लागि निम्तो पठाउने गरिएको छ ।

गत सोमवार प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा गत सोमबार उद्घाटन गरिएको जनकपुरधाम–अयोध्या रेल नियमित भएको छ । यसअघि गत मंगलबार जनकपुरधाम आएको रेल सोही दिन अयोध्या फर्किएको थियो । नेपाल र भारतबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई रेल सञ्जालमार्फत जोड्ने उद्देश्यले सुरु हुन लागेको यो सेवाले करिब ६०४ किलोमिटर दूरी १९ घण्टामा पार गर्नेछ ।

स्लिपरको भाडा ५८४ रुपैयाँ र एसीको अधिकतम दुई हजार १७६ रुपैयाँ भाडादर कायम भएको नेपाल रेलवे कम्पनीले जनाएको छ । प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सरयू–कमला एक्सप्रेस रेल हरेक साता शनिबार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गरेको छ । रेल आइतबार बिहान ८ बजेर १० मिनेटमा भारतीय समयअनुसार अयोध्या क्यान्ट स्टेसन पुग्नेछ । त्यस्तै, रेल प्रत्येक सोमबार साँझ ५ बजेर ५० मिनेटमा अयोध्याबाट अयोध्याका लागि छुट्नेछ ।

उक्त रेल मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा नेपाली समयअनुसार जनकपुरधाम आइपुग्नेछ । बिहीबारदेखि सुरु भएको टिकट बुकिङ शनिबार बिहानसम्म कायम रहने पराजुलीले बताए । तर, कति यात्रुले टिकट काटे भन्ने विवरण उनले खुलाउन चाहेनन् ।

Comment

Related News

Latest News

Trending News