सिरहाको विभिन्न सीमा क्षेत्रबाट जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टरले १४ लाख ४५ हजार ६२० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।
शुक्रवारदेखि सञ्चालन गरिएको विशेष चेकजाँच तथा सीमा निगरानीका क्रममा ती सामग्री नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएका सामग्रीमा मोटरसाइकल, लत्ताकपडा, किराना सामान, बिँडी, पेय पदार्थ, कुर्सी, मदिरा तथा हाउस वायरिङका सामान रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति प्रहरी उपरीक्षक -एसपी) सुमन जङ्ग थापाका अनुसार बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा बुझाइएको छ ।
सीमा नाकाबाट हुने अवैध ओसारपसार, तस्करी तथा चोरी पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती र निगरानीलाई अझ कडाइका साथ जारी राखेको गणले जनाएको छ ।

