अपडेट 
२०७७ जेष्ठ २१, बुधबार १७:४८

अजय कुमार साह
जनकपुरधाम
। प्रदेश २ सरकारको प्रदेशसभाको चौथो अधिवेशन आजदेखि शुरु भएको छ । आज १ बजे बोलाइएको चौथो अधिवेशनको पहिलो बैठकमा कोरोना महामारीका कारण सामाजिक दूरी कायम गरिएको थियो । अधिवेशनमा प्रस्तुत गरिएकोे आगामी आर्थिक वर्षको बजेटमा प्रदेश २ सरकारले महामारीको सङ्कट टार्न स्वास्थ्य संरचनामा सुधार र सङ्कटबाट उत्पन्न बेरोजगारी समस्यालाई समाधान गर्नेमा जोड दिइने भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आगामी वर्षको बजेटको पूर्वतयारीस्वरुप विधेयकमा समावेश गरिएका कुरामा जानकारी गराउनुभयो । प्रस्तुत गरेको विधेयकमाथि आगामी दिन बस्ने प्रदेशसभाको बैठकमा छलफल गरिने छ ।

कोरोना भाइरस महामारीले निम्त्याएको सङ्कटबाट लड्न र जोखिम न्यूनीकरणका लागि आमजनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चितताका लागि स्वास्थ्य संस्थाको संरचना, भौतिक पूर्वाधार, जनशक्ति परिचालन र वित्तीय साधन स्रोतको पर्याप्तसहित समग्र स्वास्थ्य क्षेत्रको सुधारसहित निजी क्षेत्रको लगानीको प्रोत्साहन गर्नेमा आगामी वर्षको बजेट केन्द्रित रहने विधेयक प्रस्तुत गर्दै मन्त्री यादवले जानकारी दिनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्थापना, प्रदेशभित्रका स्वास्थ्य संस्थालाई आधुनिकीकरण, चिकित्सा संस्थानको स्थापनासँगै जिल्ला अस्पताललाई २०० श्यया क्षमतासहितको बनाउने र सागरनाथ वन क्षेत्रबाट उत्पादन हुने प्राकृतिक जडीबुटीको दृष्टिगत गर्दै प्रदेश आयुर्वेद अनुसन्धान केन्द्र स्थापना गर्ने विधेयकमा समेटिएको छ ।”

आगामी दिनमा कृषि उत्पादन एवं उत्पादकत्वमा वृद्धि गर्न व्यवसायीकरण, आधुनिकीकरण, सहज आपूर्तिमा जोड दिनका लागि साना सिँचाइ आयोजना र कृषि सडक स्थापनालाई प्राथमिकतामा राखी कार्यक्रम कार्यान्वयन गरिनेछ । कृषि उत्पादनको सुरक्षित भण्डारणमार्फत खाद्य सुरक्षाको प्रत्याभूति गरिनेछ ।

एकीकृत विद्यालय अभियानमार्फत समग्र प्रदेशलाई शिक्षित प्रदेशको रुपमा विकास गर्ने, यसका लागि प्रदेशका विश्वविद्यालयलाई भौतिक पूर्वाधार निर्माण, जनशक्तिको क्षमता अभिवृद्धि गरी गुणस्तरीय शिक्षामा जोड दिइने, विद्यालयमा भर्ना र टिकाउ दर अभिवृद्धि गर्नेमा समेत बजेटको प्राथमिकता रहने बताइएको छ ।

सामाजिक र आर्थिकरुपमा पछि परेका तथा कोरोना भाइरसको महामारीबाट रोजगारी गुमाएका अतिपिन्न, दलित, किसान, मजदूरलाई राहत र समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिने, आर्थिक पुर्नउत्थान र पुर्नलाभका लागि सडक, सिँचाइ र खानेपानीजस्ता पूर्वाधार विकासमा जोड दिइने छ ।

गरिबी सर्वेक्षण र नक्साङ्कनमार्फत प्रदेशका गरिब परिवारको पहिचान र वर्गीकरण तथा विश्लेषण गरी आधारभूत आवश्यकताको सुनिश्चितता गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिने, सूचना तथा प्राविधिक क्षेत्रमा देखा परेका नवीनतम प्रविधिको उच्चतम प्रयोग गर्दै आमनागरिकको सूचनाको हक प्रत्याभूति गर्ने, प्रेस स्वतन्त्रताका सामान्य सिद्धान्तअनुरुप आम संचारलाई स्वतन्त्र, निष्पक्ष, जिम्मेवार, मर्यादित र अनुशासित बनाउन आवश्यक नीतिगत व्यवस्था गरिनेछ ।

खेलकूदमैत्री पूर्वाधारको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद सञ्चालन गरी समग्र खेलकूदको विकास गरिने, मधेश आन्दोलनमा घाइते भएका, अङ्गभङ्ग भई अपाङ्ग भएका र शहीद परिवारको जीवनस्तर उकास्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेलगायतका कुरा विधेयकमा समेटिएको मन्त्री यादवले जानकारी दिनुभयो ।

प्रदेश सभाको अर्को बैठक जेठ २२ बिहीबार दिउँसो ३ बजे पुनः बैठक बस्ने गरी आजको बैठक सम्पन्न भएको छ ।

चौथो अधिवेशनको पहिलो बैठकको शुरुमै सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखवाट चौथो अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । त्यसलगत्तै चौथो बैठकमा सम्पूर्ण सदस्यलाई स्वागत गर्दै सभामुख यादवले प्रदेशसभाको चौथो अधिवेशन प्रारम्भ भएको अवसरमा प्रदेशसभालाई कसरी प्रभावकारी रुपमा आगाडि बढाउन सकिन्छ भन्ने विषयमा समाजवादी पार्टीका संसदीय दलका नेता तथा मुख्यमन्त्री लालबाबु राउतलाई बोल्न समय दिनुभयो ।

मुख्यमन्त्री राउतले आइसोसेलन र क्वारेन्टिनमा विभिन्न असुविधा र पीडाका बीच पनि सरकारको नियम पालना गरिरहेकालाई मुख्यमन्त्री राउतले धन्यवाद र शुभकामना व्यक्त गर्नुभयो ।

देश बाहिरबाट आएकामा सङ्क्रमणको सम्भावना धेरै रहेको भन्दै मुख्यमन्त्री राउतले उनीहरुलाई अहिले राखिएको विद्यालय, धर्मशालासहितको सार्वजनिकस्थल र त्यसमा रहेको अव्यवस्था वास्तवमै विश्व स्वास्थ्य सङ्गठनको मर्म विपरीत रहेको स्वीकार गर्दै अभावको यस अवस्थामा तिनै तहको सरकारबीचमा समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले बाहिरबाट आएकाको पीडादेखि नसक्ने किसिमको रहेको बताउनुभयो । दुईतीन सयको सङ्ख्यामा दैनिक सङ्क्रमित बढी रहेपनि सङ्घीय सरकार गम्भीर नभएको आरोप लगाउँदै उहाँले कोरोना नियन्त्रण र स्वास्थ्यको सबै पूर्वाधार तथा देश फर्केका बेरोजगार नै आगामी बजेटको प्राथमिकता हुने बताउनुभयो ।

राजपा संसदीय दलका नेता तथा मन्त्री जीतेन्द्र सोनलले कोरोना महामारीको नियन्त्रण, अहिलेको अव्यवस्था र बाहिर तथा देशभित्रका पनि जनताले भोग्नुपरेको पीडा नै बजेटको मुख्य अंश हुनुपर्ने बताउनुभयो । नेकपाका सत्यनारायण मण्डलले प्रदेश सरकारले कोरोना नियन्त्रण, आइसोलेसन तथा क्वारेन्टिन व्यवस्थापनमा तदारुकता देखाउन नसकेको आरोप लगाउनुभयो । काँग्रेसका रामसरोज यादवले आफूहरुलाई विपक्षी नभई प्रदेश सरकारको मित्र रहेको आरोप लागि रहेको भए पनि सङ्घीयताको लागि काँग्रेस प्रदेश सरकारको मित्र बन्न तयार रहेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News