अपडेट 
२०७७ जेष्ठ ३०, शुक्रबार १६:२७

सप्तरी । कोरोना भाइरसको सङ्क्रमण देखिएका सप्तरीका १७ जना एकैपटक निको भएर बिहीबार घर फर्किएका छन् ।

भारतको दिल्ली, गुडगाँव, हरियाणा, पञ्जाब, महाराष्ट्र, चण्डीगढ, गुजरात, राजस्थानमा मजदुरी गरी फर्किएका एक किशोरीसहित १५ युवा र क्वारेन्टिनमा खटिँदा सङ्क्रमित दुई प्रहरी आइसोलेसनबाट बिहीबार साँझ बिदा भएका हुन् ।

हरियाणाबाट आएका बोदेबर्साइन नगरपालिका–९ का ४१ वर्षीय छुतहरु रामले गाउँ आएको एक महिनापछि घर जाँदा खुशी लागेको बताउनुभयो । आफ्ना कारणले घरपरिवार, समाजमा कोरोना फैलिन दिनु हुँदैन भनेर हरियाणाबाट गाउँ आए पनि सोझै क्वारेन्टिनमा गएको उहाँले बताउनुभयो । आइसोलेसनमा बसेको १५ दिनमा पिसीआर रिपोर्ट नेगेटिभ आएपछि खुशी भएर घर फर्किन लागेको उहाँले जानकारी दिनुभयो ।

रामसहित बोदेबर्साइन नगरपालिकाका आठ, राजविराज नगरपालिका–१० का तीन, बलानबिहुल गाउँपालिकाका दुई, खडक र बिष्णुपुरका एक/एक तथा सुरुङ्गाको क्वारेन्टिनमा खटिएका सिरहा धनगढी–१० का प्रहरी सहायक निरीक्षक र बोदेबर्साइन क्वारेन्टिनमा खटिएका पर्सा जगरनाथपुर–६ का प्रहरी हबल्दारले कोरोना जितेका हुन् ।

उनीहरुलाई राजविराजस्थित साइकष्णा कलेज एण्ड हस्पिटलमा बनाइएको आइसोलेसनमा राखिएको थियो । अस्पतालमा उपस्थित गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास, कोभिड–१९ व्यवस्थापन इन्चार्ज डा रणजीतकुमार झा, डा जितेन्द्र यादवले बिदाइ गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News