अपडेट 
२०७७ जेष्ठ ३२, आईतवार ०८:२३

जनकपुरधाम । धनुषा जिल्लाको सबैला इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका शम्भु सदाको हत्या भएको आरोप लगाउँदै पीडित पक्षको किटानी जाहेरी लिन प्रहरीले अस्वीकार गरेकोछ ।

पीडित परिवारले इलाका प्रहरी कार्यालयका इञ्चार्ज इन्सपेक्टर चन्द्रभुषण यादव सहित ४ जनामाथि शम्भु सदाको हत्याको अभियोगमा किटानी जाहेरी दिन चाहेका छन् ।प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेपछि मृत्यु भएको ५ दिन बितिसक्दापनि पोष्टमार्टम हुन सकेको छैन् ।

सबैला नगरपालिका– १२ बरकुर्वाका सदा थुनुवा कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मंगलबार राति फेला परेका थिए ।उनको मृत शरीरलाई बुधबार नै पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएपनि शनिबार साँझसम्म पोष्टमार्टम हुन सकेको छैन् ।

थुनुवा कक्षभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका शम्भुले आत्महत्या गरेको प्रहरीले बताउँदै आएको छ । तर मृतक परिवार, स्थानीय र मुसहर समुदायले शम्भुको थुनुवा कक्षभित्रै हत्या गरेको बताउँदै आएका छन् ।

मुसहर समुदायले उनको हत्या गरिएको भन्दै दोषी प्रहरीलाई कार्वाहीको माग गर्दै शनिबार जनकपुरधाममा प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी प्रदर्शन गरेका प्रदर्शनकारीहरुले नगरमापनि प्रहरी बिरुद्ध नाराबाजी गरे ।

उनीहरुले शम्भुको हत्या गर्नेलाई कार्वाही, उनको परिवारको भरणपोषण र एक जनालाई रोजगारी नदिइए चरणबद्व आन्दोलन गर्ने बताउँदै आएकाछन् ।

Comment


Related News

Latest News

Trending News