२०७७ असार ३, बुधबार ०८:०३

जनकपुरधाम । इलाका प्रहरी कार्यालय सबैला, धनुषाको थुनुवा कक्षभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका शम्भु सदाको घट्ना छानबिनका लागि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति बनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रको संयोजकत्वमा चार जनाको समिति बनाइएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

उक्त समितिमा मृतक पक्षको तर्फबाट दुई जनालाई आमन्त्रित सदस्यको रुपमा राखिने भएको छ । एक जना अधिकारकर्मी र एक जना कानुन व्यवसायीलाई आमन्त्रित सदस्यको रुपमा राखिने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

‘ती दुई जना उहाँहरु (मृतक पक्ष) ले राख्नुहुनेछ’ निरौलाले भने, “मृतकको परिवारलाई राहत उपलब्ध गराउन पनि जिल्ला प्रशासन कार्यालयले यथासिघ्र पहल गर्ने निर्णय भएको ।”

प्रमुख जिल्ला अधिकारी निरौलाको अध्यक्षतामा मंगलबार प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमु्ख, मृतक पक्षका व्यक्ति समेतको सहभागितामा बसेको बैठकले पीडित परिवारलाई शान्ति सुरक्षाको तत्काल उचित प्रबन्ध मिलाउने निर्णय पनि गरेको छ ।

गत जेठ २८ गते राति २२ बर्षीय शम्भु इलाका प्रहरी कार्यालय सबैलाको थुना कक्षभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले चलाएको ट्याक्टरले ठक्कर दिएर एक जना महिलाको ज्यान गएपछि उनी थुनाभित्र थिए ।

मृतकका परिवारजनले उनको हत्या गरेको जिकिर गर्दै आएका छन् ।

Comment

Related News

Latest News

Trending News