अपडेट 
२०७७ असार ६, शनिबार ०९:१९

सप्तरी । सप्तरी जिल्लाका वन क्षेत्रमा चोरी, तस्करी बढेको छ । वन क्षेत्रमै रुख ढालेर रातारात लग्ने गरेको पाइएको छ । वन क्षेत्रमा तस्कर सकृय भएपनि सम्बन्धित निकाय मौन देखिएका छन् ।

कंचनरुप नगरपालिकास्थित एक सामुदायिक वनभित्रै रुख ढालेर त्यहीं चिरान गर्ने गरेको पाइएको छ ।

दुई वटा चिरान मेसिनमा चार जना मिलेर वन क्षेत्रभित्रै रुख ढालेर चिरान गरिरहेका छन् ।

कंचनरुप नगरपालिका वडा नम्बर ६ स्थित गोरराजा नमूना सामुदायिक वनभित्रका रुखहरु धमाधाम ढालेर त्यहीं चिरान गर्ने गरेको पाइएको हो ।

रुख ढालेर काठ बनाउने तथा ट्याक्टरमा हाली माथिबाट बालुवाले छोपेर रातिको समयमा ल्याइने गरेको स्थानीयहरुले बताएका छन् ।

सामुदायिक वनका पदाधिकारीकै मिलोमतोमा वन क्षेत्रबाट रुख कटान भइरहेको छ ।

पदाधिकारीले नै विपन्न मजदूरलाई काठ ल्याउन पठाउने गरेका छन् । यस वापत उनीहरुलाई केहि रकम र दाउरा दिने गरिएको स्थानीयको भनाई छ ।

यो वनका अध्यक्ष सुलेमान मियाँ वन क्षेत्रभित्रै काठ चिरान भइरहेको सन्दर्भमा आफूलाई जानकारी नै नभएको बताउँछन् ।

लकडाउनको समयमा केहि चोरी, तस्करी हुने गरेको उनले बताएपनि उक्त घट्नाबारे अनभिज्ञ रहेको बताए ।

वनका सचिव रमानन्द साह पनि लकडाउनकाबीच थोरै चोरी बढेको स्वीकार्छन् । तर, वनमै रुख ढालेर चिरान गरिएको बारे आफूलाई जानकारी नभएको उनी बताउँछन् ।

वन डिभिजन कार्यालय, सप्तरीका प्रमुख सन्तोष झा उक्त घट्नाबारे आफूलाई जानकारी नभएको बताउँछन् । ‘यसबारे बुझ्छु’ उनी भन्छन्, “दोषी देखिनेलाई कार्वाही हुन्छ ।”

कंचनरुप नगरपालिका ८ स्थित सव डिभिजन वन कार्यालय छ । तर, यहीं कार्यालय हुँदै दैनिक रुपमा काठ र दाउरा ओहोरदोहोर गराउने भेटिन्छन् । वन क्षेत्रबाट काठ र दाउरा साइकलमा ल्याउनेहरु यहीं बाटो हिंडिरहेको स्थानीयको भनाई छ ।

Comment


Related News

Latest News

Trending News