अपडेट 
२०७७ असार ९, मंगलवार ११:४५

जनकपुरधाम । प्रदेश २ का सांसदले सरकारले ल्याएको बजेट कार्यान्वयनमा शंका व्यक्त गरेका छन् । उनीहरुले बजेट भुजा बितरण गरिए झैं शिर्षकहरुमा छुट्टयाएको बताए ।

आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि ल्याइएको बजेट उपर सोमबार भएको छलफलमा सहभागी हुँदै सत्ता पक्षका सांसद समेतले सबै शिर्षकमा बजेट राखिएकाले यसबाट प्रदेशको विकास हुन नसक्ने बताए ।

सत्तासिन जनता समाजवादी पार्टीका सांसद परमेश्वर साहले मन्त्रीहरु आफ्नो हिसाबले बजेट छुट्टयाएको देखिएको बताए । उनले छरेर छुट्टयाएको बजेटले प्रदेशको विकास हुन नसक्ने बताए ।

सत्ता पक्षकै सांसद अशोक यादवले बजेटमा अबण्डा शिर्षक राखिएकोप्रति आपत्ति जनाए । उनले यो समयै सच्चयाउन आग्रह गरे ।

सांसद करिमा बेगमले यो तरिकाको बजेट कार्यान्वयनमा आशंका व्यक्त गरिन् । उनले पछिल्ला ३ बर्षको बजेट कार्यान्वयन नभएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन् ।

सांसद रमेश कुर्मीले पनि बजेट कार्यान्वयन हुन नसकिरहेको बताउँदै बजेट पूर्ण रुपमा व्यवस्थित गरिए मात्र विकास हुने बताए ।

सांसद चमेली देवी दासले बजेट ल्याइएपनि कार्यान्वयन नभइरहेको बताइन् । उनले केहि सांसदलाई करोडौंको योजना र आफूलाई लाखको योजना दिने गरेको भन्दै आपत्ति जनाइन् ।

सांसद बाबुलाल कानुले प्रदेशको ६४ वटै क्षेत्रलाई प्राथमिकता बनाएर बजेट विनियोजन गर्नुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी नेकपाका सांसद रामचन्द्र मण्डलले प्रत्येक क्षेत्रमा ५ किलोमिटर सडक निर्माणबाहेक कुनै पनि शिर्षकको बजेट फलदायी नरहेको बताए । उनले असमान तरिकाले बजेट विनियोजन गर्दै मन्त्रीहरुले आफ्नो क्षेत्रमा बढी लग्न चाहेको बताए ।

नेकपाकै सांसद राकुमार यादवले बजेटलाई रक्सी पुरानै र बोतल नयाँ भएको टिप्पणी गरे ।

सांसद गोबिन्द बहादुर न्यौपानेले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत छुट्टयाइएको सौन्दर्यीकरण बजेट अनुत्पादक भएको बताए ।

सांसद ज्वालाकुमारी साहले थोरै भएपनि ठोस योजना ल्याएर काम गर्नुपर्नेमा त्यसो नगरिएको बताइन् ।

Comment


Related News

Latest News

Trending News