अपडेट 
२०७७ असार १०, बुधबार २२:३३

रौतहट।रौतहटको आठ नगरपालिका र दुई गाउँपालिकाको आज नगरसभा तथा गाउँसभा सम्पन्न भएको छ । जिल्लाको १८ स्थानीय तहमध्ये आठ नगरपालिका र दुई गाउँपालिका गरी १० वटा स्थानीयतहको नगर तथा गाउँसभा सम्पन्न भएको हो ।

स्थानीय मौलापुर, गौर, चन्द्रपुर, राजपुर, परोहा, गढीमाई, बृन्दावन र माधवनारायण नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । त्यसैगरी दुुर्गा भगवती र यमुनामाई गाउँपालिकाको पनि आज नै गाउँसभा सम्पन्न भएको जिल्ला समन्वय समितिका सभापति रामएकवाल यादवले बताउनुभएको छ ।

मौलापुर नगरपालिकाका प्रशासकीय अधिकृत सिकिन्द्र साहले कूल रु ३५ करोड, २८ लाख,२३ हजार ५९० को वार्षिक बजेट प्रस्तुत गर्नुभएको छ । मौलापुरको चौथो नगरसभाले कोरोना भाइरस महमारीबाट नागरिकलाई जीवनरक्षा गर्दै सामाजिक न्यायसहित पूर्वाधार विकासमा जोड दिएको छ ।

त्यसैगरी स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैङ्गिक समानता तथा समावेशीकरण, पूर्वाधार विकास, सिँचाइ तथा नदी नियन्त्रण, भवन तथा शहरी विकास, सञ्चार, ऊर्जा, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह, वित्तिय व्यवस्थापन, सुशासनलाई समेत प्राथमिकतामा राखेको मौलापुर नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

कार्यक्रममा नेकपाका नेता तथा सांसद प्रमु साह, प्रदेश सांसद कुन्दन कुश्वाहा, नगर प्रमुख रिनाकुमारी साह, उपप्रमुख गौरीशङ्कर जयसवाललगायतले कोरोना भाइरस जस्ता महामारीको सङ्कटको समय प्रदेश सरकारले अपेक्षाअनुसार सहयोग गर्न नसकेको बताएका थिए ।

गत आर्थिक वर्षको जस्तै मौलापुरका किसानलाई सिँचाइका लागि निःशुल्क पानी, उन्नत जातका बीउ कार्यक्रमलाई आगामी आवमा निरन्तरता दिएको नगरप्रमुख रिनाकुमारी साहले बताउनुभयो । मौलापुरबाहेक आज सम्पन्न भएको नगर तथा गाउँसभाले कोरोना भाइरस प्रभावलाई दृष्टिगत गर्दै आ–आफ्नो वार्षिक बजेट प्रस्तुत गरेको छ ।

उपप्रमुखद्वारा नगरसभा बहिस्कार
यसैगरी रौतहटको बृन्दावन नगरपालिकाकी उपप्रमुख नुरजहाँ खातुनले चौथो नगरसभा बहिस्कार गरेकी छिन् । नगर प्रमुख रामस्नेही यादव र प्रशासकीय अधिकृत नागेन्द्र यादवले आफूसँग बिना सल्लाह गरी बलपूर्वक नगरसभा गर्न लागेको भन्दै उहाँले नगरसभा बहिस्कार गरेकी हुन ।

उपप्रमुख खातुनले प्रमुख र प्रशासकीय अधिकृत मिलेर करोडौं रकम अनियमितता गरेको र आफूले हिसाब माग्दा नदिएकाले नगरसभा बहिस्कार गरेको सञ्चारकर्मीहरुलाई बताउनुभयो ।नदीजन्य पदार्थ बिक्रीमा करिब रु ६ करोड तथा अन्य शीर्षकमा करिब रु साढे ५ करोडको अनियमितता भएको उहाँको दाबी छ ।उहाँले नगर प्रमुख तथा प्रशासकीय अधिकृतले हिसाब नदिए आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराउने बताउनुभयो ।बुधबार भएको नगरसभा बदर गरी हिसाब फर्र्छाैट गरेपछि मात्र नगरसभा गर्न उपप्रमुख खातुनले माग गरेकी छिन् ।

उता नगर प्रमुख यादवले उपप्रमुखको सहमति रहेको र नगरसभामा हस्ताक्षर गरेर समेत गएकाले कुनै बिरोध नरहेको बताउनुभयो । तर उपप्रमुख खातुनले आफूले उपस्थितीमा सही गरेको तर बन्दसत्रमा सही नगरेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News