अपडेट 
२०७७ असार १३, शनिबार ०९:१०

वीरगञ्ज ।प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या सर्वाधिक भएपनि पीसीआर टेस्ट कमजोर भइरहेको बेला नारायणी अस्पतालमा २ वटा पीसीआर मेसिन सञ्चालनमा आएकोछ ।

प्रदेश सरकारले उपलब्ध गराएको पीसीआर मेसिनका अतिरिक्त वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराएको अर्को पीसीआर मेसिनपनि सञ्चालनमा आएको ल्याबकी प्रमुख डा.नीरा पाठकले बताइन् ।

‘ल्याबमा दुईवटा पीसीआर मेसिनबाट परीक्षण सुरु भइसकेकोछ’ उनले भनिन्, पूर्ण क्षमतामा सञ्चालन हुन थालेपछि दैनिक ६ सय सम्म स्वाब परीक्षण हुन सक्छ ।

हाल प्रदेश २ मा स्वाब टेस्ट समयमै नहुँदा क्वारेन्टाइनमा संक्रमण फैलिन थालेकोछ ।पीसीआर टेस्ट नभएकै कारण कोरोना भाइरस (कोभीड–१९)को संक्रमण बढी फैलिएको बताइन्छ ।

हाल प्रदेश २ को नारायणी , प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम र गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पीसीआर मेसिन सञ्चालनमा रहेका छन् ।

सबै मेसिनले राम्ररी काम गरे एकै दिनमा १ हजार बढी स्वाब परीक्षण गर्न सकिने प्राविधिकहरु बताउँछन् ।तर पीसीआर किटको अभावका कारण टेस्ट नै कयौं पटक रोकिएकोछ ।

वीरगञ्ज महानगरपालिकाको कोरोना भाइरस राहत कोषमा स्थानीय उद्योगी व्यवसायीहरुले प्रदान गरेको रकमबाट पीसीआर मेसिन खरिद गरिएकोछ ।महानगरपालिकाले २ हजार किटपनि मगाएको बताइएकोछ ।

शुक्रवार प्रदेश २को सप्तरीमा ९४, धनुषामा ६२, महोत्तरीमा २५ र पर्सा जिल्लामा ५१ स्वाब मात्र संकलन भएकोछ ।किटको अभावमा स्वाब संकलन प्रभावित भएकोछ ।

Comment


Related News

Latest News

Trending News