अपडेट 
२०७७ असार १६, मंगलवार ०७:४८

काठमाण्डु ।कोरोना भाइरसको कहर बढदै गएपनि सरकारले हाल रहेको खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

सोमबार राति सम्पन्न मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको एकजना मन्त्रीले जनाए । तर हवाइ उडान र सीमा नाका साउन ७ गतेसम्म पूर्ण रुपमा बन्द रहने निर्णय भएको ती मन्त्रीले बताए ।

यस अघि गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।

सोहीअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । खुकुलो लकडाउनमा सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।

व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल, निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । बैंक, बित्तीय संस्था र सहकारी पनि पूर्ण रुपमा खोल्न सरकारले अनुमति दिएकोछ ।

जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान, प्रस्तुतिहरु, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न सरकारले अझै रोक नै लगाएकोछ ।

मन्त्रीपरिषद बैठकले यात्रुबाहक सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको सन्दर्भमा यसबारे गम्भीर समीक्षा भएको बताइएको छ ।

सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो । तर जेठ २८ गते भएको निर्णयअनुसार लकडाउन खुकुलो बनाइएको थियो । मन्त्रीपरिषदको निर्णयले जारी खुकुलो लकडाउनलाई साउन ९ सम्म कायम रहनेछ ।

उद्योगी व्यवसायीहरुले सरकार राजस्व संकलन गर्न सिमित समयका लागि लकडाउन खुकुलो बनाएको आरोप लगाउँदै आएका छन् ।

Comment


Related News

Latest News

Trending News