अपडेट 
२०७७ असार १६, मंगलवार ०८:१६

जनकपुरधाम । नेकपा नेतृत्वको संघीय सरकारले ल्याउन लागेको ७ बर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानबिरुद्व जनता समाजवादी पार्टीद्वारा सोमबार पनि जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

‘विभेदकारी महिला बिरोधी नागरिकता विधेयक खारेज गर, मधेशी सांस्कृतिक सम्बन्धमाथि प्रहार गर्ने कार्य बन्द गर, बेटी रोटीको सम्बन्ध तोड्न पाइँदैन’ जस्ता नारा लगाउँदै प्रदर्शन गरिएको हो ।

पार्टीका संघीय सांसद, प्रदेश सांसदसहित केन्द्रीय तथा जिल्ला नेताको सहभागितामा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्व चर्काे नाराबाजी गर्दै प्रदर्शन गरिएको छ ।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टीका संघीय सांसद उमाशंकर अरगरियाले अंगीकृत नागरिकतामा ७ बर्षे प्रावधान मधेश बिरोधी रहेको बताए । उनले भारतमा ७ बर्षपछि नागरिकता दिने नाममा यहाँ पनि यस्तो नियम लगाउन नमिल्ने बताए ।

‘भारतमा नागरिकतालाई त्यति महत्व नै दिइएको छैन । तत्कालै दिइने आधार कार्डले नै सबै काम हुँदोरहेछ’ उनले भने, “तर यहाँ पल पलमा नागरिकता नै चाहिन्छ । त्यसैले यो नागरिकता विधेयक संशोधन हुनु जरुरी छ ।”

कोणसभामा प्रदेश सांसद सुरिता साह, परमेश्वर साह, रामाशीष यादवसहितकाले बोलेका थिए ।

Comment


Related News

Latest News

Trending News