अपडेट 
२०७७ असार १८, बिहीबार ०९:१२

जनकपुरधाम । गत बर्ष अत्यधिक विदा दिएको भन्दै आलोचना सहेको प्रदेश २ सरकारले २०७७ सालको विदा कटौति गरेको छ ।

२०७७ सालमा प्रदेश २ सरकारले ६ दिन मात्रै विदा दिएको छ । यसअघि २०७६ सालमा ११ दिन विदा दिइएको थियो ।

यस पटक संघीय सरकारले दिएको विदाबाहेक ६ दिन मात्रै विदा दिने निर्णय प्रदेश सरकारको गत जेठ १० गते बसेको मन्त्री परिषद् बैठकल निर्णय गरेको छ ।

२०७७ सालमा जनै पूर्णिमा (रक्षा बन्धन) का दिन साउन १९ गते सोमबार र साउन २७ गते मंगलबार कृष्णाजन्मष्टमीको अवसर पारेर विदा दिने निर्णय गरेको छ ।

यस्तै, पुस ४ गते विवाह पञ्चमीका दिन विदा दिइएको छ । माघ ५ गते सोमबारका दिन मधेश आन्दोलन स्मृति पर्वको अवसरमा तथा चैत १७ गते मंगलबार तराई होली पर्वको अवसर पारेर प्रदेश सरकारले विदा दिने निर्णय गरेको छ ।

यद्यपी २०७७ सालमा तराई होली चैत १६ गते सोमबार परेको छ ।

पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर दिन यकिन गरी १ दिन विदा दिने निर्णय प्रदेश सरकारले गरेको छ ।

२०७६ मा प्रदेश सरकारले सिता जयन्ती, जनै पूर्णिमा, कृष्णाजन्मष्टमी, विवाह पञ्चमी, पैगम्बर महम्दको जन्म दिन, मधेश आन्दोलन स्मृति दिवस र रामनवमीमा १÷१ दिन र छठ तथा होली पर्वमा २÷२ दिन विदा दिने निर्णय गरेको थियो ।

तर, गत बर्ष दुई दिन छठ पर्वको विदा दिएको प्रदेश सरकारले यस पटक एक दिन पनि यो पर्वको विदा दिएको छैन् । होली पर्वमा १ दिन मात्रै विदा दिएको छ भने सीता जयन्ती गत बैशाख १९ गते नै मनाइसकिएका कारण बार्षिक विदाको सूचीमा यो दिनलाई राखिएको छैन् ।

२०७७ सालको रामनवमी भने मलमास परेका कारण २०७८ साल बैशाख ८ गते पर्न जाँदा यो बर्षको विदामा त्यसलाई समेटिएको छैन् ।

Comment


Related News

Latest News

Trending News