अपडेट 
२०७७ असार २१, आईतवार ०८:०९

जनकपुरधाम ।मधेश आन्दोलनमा सहादत दिएका सहिदहरुको स्मृतीमा धार्मिक सांस्कृतिक नगरी जनकपुरधामको प्रवेशद्वारमा मिथिला संस्कृती झल्किने सहिदद्वारको निर्माण प्रारम्भ भएकोछ ।

जनकपुरधाम उपमहानगरपालिकाको उत्तरी प्रवेशद्वार मुजेलियामा नगर प्रमुख लालकिसोर साहले शनिवार बिहान धार्मिक विधिअनुसार द्वारको शिलान्यास गरे ।

डेढ वर्षमा निर्माण पुरा हुनेगरि ठेक्का लगाइएको सो प्रवेशद्वारको निर्माण भने एक वर्ष भित्रै सकिनेगरि काम प्रारम्भ भएको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर वीरेन्द्र यादवले जनाए ।‘ठेक्काको अधिकतम् समय १८ महिना रहेकोछ’ उनले भने, तर निर्माण कार्य एक वर्ष भित्र नै पुरा हुनेगरि काम थालिएकोछ ।भ्याट समेत ४ करोड २८ लाखको लागत रहेको सहिदद्वार जनकपुरधामको प्रमुख प्रवेशद्वारपनि रहेको उनले जनाए ।

तेस्रो मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गरेका नितु यादव, दिलिप यादव र सञ्जय चौधरीको अन्त्येष्टि गरिएको स्थलसँगै मुख्य राजमार्गमा द्वार निर्माण गर्न थालिएकोछ ।

‘३१ फिट अग्लोद्वारमा भगवान धनुष लिएको भगवान रामको प्रतिमा रहनेछ’ ई.यादवले भने, तीनवटा पिलरमा तीनै जना सहिदको प्रतिमा र माथि भगवानको प्रतिमा राखिने डिजाइन गरिएकोछ ।सिंगोद्वार धनुष आकृतिको रहेको उनले बताए ।

विभिन्न आन्दोलनको क्रममा जनकपुरधाममा कयौं सहिद भएपनि पहिलो पटक सहिदको सम्मानमा द्वार निर्माण गर्न थालिएकोछ ।विगतका आन्दोलनमा भएका सहिदहरुलाई तत्कालिन सत्तासित र जनकपुर नगरपालिकाका मेयरहरुले सम्झेनन् ।

‘चुनाव ताका नै गरिएको प्रतिबद्धता अनुसार सहिदद्वारको शिलान्यास गरेको छु’ मेयर साहले भने, अत्यन्त कलात्मक रहनेद्वारले यहाँको संस्कृतिपनि झल्काउनेछ ।सहिदको सम्मानमा उपमहानगरपालिकाले द्वार बनाउन लागेको उनले बताए ।

जनकपुरधाम–ढल्केवर राजमार्गमा निर्माण हुन लागेको सहिदद्वारले ट्राफिकमा कुनै समस्या नआउने ई.यादवले जनाए ।‘सडक डिभिजन कार्यालय, ट्राफिक प्रहरी लगायतका विज्ञहरुको सुझाव अनुसार द्वारको डिजाइन गरिएकोछ’ उनले भने, सडकमा गुड्ने सवारी साधनलाई कुनै प्रकारले द्वारबाट नोक्सानी पुग्नेछैन्

शिलान्यास समारोहमा प्रदेश सभासदस्य परमेश्वर साह, उपमेयर रीता मिश्र, जनता समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादव, नेता शेषनारायण यादव, सञ्जय सिंह, विभा ठाकुर लगायतका नेता, कार्यकर्ताहरुको सहभागिता थियो ।

प्रदेश सरकारले वीरगञ्जमा गत वर्ष नै शिलान्यास गरेको मधेश सहिद स्मृती पार्कको काम सुरु हुन सकेको छैन् ।मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा पार्कको शिलान्यास गरेका थिए ।


पहिलो मधेश आन्दोलनको उद्गम स्थल सिरहा जिल्लाको लहानमा सहिद स्मृती पार्कको निर्माण गरिएकोछ ।मुख्य राजमार्गमा बनाइएको स्मृती पार्कमा मधेश आन्दोलनका पहिलो सहिद रमेश महतो सहितका सहिदहरुको प्रतिमा राखिएकोछ ।

२०७२ सालको मधेश आन्दोलन उत्कर्षमा पुगेको बेलॉचलु जनकपुर , भरु जनकपुर’को नारा दिएको दिन ठूलो संख्यामा आन्दोलनकारीहरु नगर क्षेत्रमा प्रवेश गरेका थिए ।नगर क्षेत्रमा लागेको कफ्र्यु तोड्दै प्रदर्शनकारीहरु भारी संख्यामा प्रवेश गरेका थिए । त्यै दिन यादवद्वय र चौधरीलाई प्रहरीले निर्ममतापूर्वक हत्या गरेको थियो ।

बिभिन्न प्रतिवेदनहरुका अनुसार उनीहरुलाई प्रहरीले जानजान गोली हानेर हत्या गरेको उल्लेख गरिएकोछ ।निहत्था रहेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानेको आन्दोलनकारीहरुको आरोप थियो ।दुई जनालाई नेपाल प्रहरीले र एकजनालाई सशस्त्र प्रहरीले गोली हानेका थिए ।

Comment


Related News

Latest News

Trending News