अपडेट 
२०७७ असार २२, सोमबार ११:४४

मलंगवा । सर्लाहीका सरकारी कार्यालयहरु चर महिनापछि सोमबार देखि संचालनमा आउँदैछ ।जिल्ला संकट व्यवस्थापन केन्द्रको आईतबार बसेको बैठकले सुरक्षा सतर्कता अपनाउँदै कार्यालयहरुबाट सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।

लकडाउन जारी भएको ११ चैतपछि सोमबारबाट सर्लाहीका कार्यालयहरु संचालनमा आउन लागेको हो । सरकारले असार १ गतेबाट लकडाउन खुकुलो बनाएसँगै अन्य जिल्लाका सरकारी कार्यालयहरु संचालनमा आएपनि सर्लाही जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा खोलिएको थिएन् । शनिबारसम्म सर्लाही जिल्लामा ६ सय ३५ जना संक्रमित देखिएका छन् ।

सोमवारदेखि जिल्ला प्रशासन, मालपोत, भूमीसुधारसहितका कार्यालयबाट सेवा प्रवाह गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मोहनबहादुर जिसीले बताए ।

बढी भींडभाड नहोस् भन्नका लागि प्रत्येक स्थानीय तहका लागि दिन निर्धारण गरेर सेवा प्रवाह गर्ने निर्णय भएको छ । सीडीओ जीसीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्धारित सुरक्षा सम्बन्धी मापदण्डको पालना समेत गराइने बताए ।

सर्लाहीको कुल २० वटा स्थानीय तहमध्ये १६ वटा स्थानीय तहका जनताको सेवा प्रवाह सदरमुकाम मलंगवाबाट र बाँकी चार स्थानीय तहको हरिवन र बरहथवास्थित कार्यालयबाट गरिने उनले बताए ।

‘समाजिक दुरीको पालना र मास्क अनिवार्य रुपमा हुनुपर्ने प्रबन्ध मिलाउन भनिएकोछ’ जीसीले भने, सर्वसधारणको समस्यालाई न्यूनीकरण गर्न कार्यालयहरु सञ्चालनमा ल्याउन थालिएकोछ ।

आईतबार सदरमुकाम मलंगवा नगरपालिका र ब्रहमपुरी गाउँपालिका, सोमबार हरिपूर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका र पर्सा गाउँपालिका, मंगलबार बलरा नगरपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिका, बुधबार बिष्णु गाउँपालिका, चक्रघटा गाउँपालिका र कविलासी नगरपालिका, बिहीबार कौडेना गाउँपालिका, गोडैता नगरपालिका र बसबरिया गाउँपालिका तथा शुक्रबार इश्वरपुर र हरिपुर नगरपालिकाका बासिन्दालाई सेवा दिइने प्रमुख जिल्ला अधिकारी जिसीले जनाए ।

अन्य कार्यालयहरु सोमवारदेखि खुलेपनि कोष लेखा नियन्त्रण कार्यालय र बैंकहरु नियमित रुपमा सेवा प्रवाहगर्दै आएका छन् ।विकास निर्माण सम्बन्धी कार्यहरु धमाधम भइरहेका छन् ।कोरोना भाइरसको संक्रमण फैलिने त्रासबाट सर्वसधारणले बढी नै सास्ती भोग्नु परिरहेकोछ ।

Comment


Related News

Latest News

Trending News