अपडेट 
२०७७ असार २८, आईतवार १०:०१

जनकपुरधाम :प्रदेश २ को सरकार आफ्नै दलका सभासदहरुबाट संकटमा पर्न थालेका छन् ।सत्तारुढ सभासदहरुले मुख्यमन्त्री र मन्त्रीहरुको राजिनामा मागेका छन् ।

समाजवादी पार्टी प्रदेश २ संसदीय दलको शनिवार मुख्यमन्त्री लालबाबु राउतको सरकारी आवासमा भएको बैठकमा सभासदहरुले मुख्यमन्त्री सहित मन्त्रीहरुको राजिनामा मागेका छन् ।

पार्टी संसदीय दलको बैठकमा मुख्यमन्त्री र मन्त्रीहरुले सरकार चलाउन असफल रहेको, बजेट विनियोजनमा सत्तापक्षकै सभासदहरुलाई पूर्ण उपेक्षा गरेको आरोप लगाउँदै राजिनामा माग गरिएकोछ ।मुख्यमन्त्री राउतप्रति अधिकांश सभासदहरु आक्रोश पोखे ।

बिहान १० बजे बोलाइएको संसदीय दलको बैठक मध्यान्ह १२ बजे सुरु भएको थियो ।२ घण्टा सम्म चलेको सो बैठकमा सभासदहरुले मुख्यमन्त्री लगायत मन्त्रीहरुमाथि विभिन्न आरोप लगाए ।प्रदेश सभामा पेश भएको रेडबुक(बजेट किताब)मा उल्लेख गरिएका योजनाहरु मन्त्रीले आ¥आफ्नै क्षेत्रमा केन्द्र्रित गरेको देखिन्छ ।

‘मुख्यमन्त्री र मन्त्रीहरु आफ्नो जिल्ला र पालिकामा मात्रै सिमित भए’ सर्लाहीका सभासद अशोक यादवले भने, सरकारले तीन आर्थिक वर्षको बजेट चलाउँदापनि हाल सम्म सरकार भएको अनुभुति गराउन सकेको छैन् ।

‘मुख्यमन्त्री र मन्त्रीहरुले खुद्रा र टुक्रे योजनालाई प्राथमिकता दिएका छन्’ उनले भने, हामीपनि सत्तापक्षका सभासद हौं, तर बजेटमा हाम्रो कुनै योजना समावेश गरिएको छैन् ।

‘सरकार यसरी चल्न सक्दैन,’ दलको बैठकमा यादवले भने, ‘तपाईंहरु सरकार चलाउन सक्नु भएन । राजीनामा गर्नुस् । अर्को टिमले सरकार चलाउँछ ।’

नीति तथा कार्यक्रममै असहमति जनाउँदापनि सरकारले त्यसको सम्बोधन गर्न चासो नदेखाएको उनले दुखेसो पोखे ।प्रदेश सभा बैठकमा अहिले बजेटको बिनियोजन शीर्षकमाथि छलफल भइरहेकोछ ।त्यसमा सत्तारुढ दलकै सभासदहरुले चर्को बिरोध जनाइरहेका छन् ।

‘प्रदेश सरकारले अहिलेसम्म तीनवटा आर्थिक वर्षको बजेट चलाइसके’ बैठकमा यादवले भने, प्रदेशमा कहाँ र कुन ठाउँमा प्रभावकारी विकास भएको छ, देखाइदिनु प¥यो ?’ मन्त्रीहरु आफ्नै स्वार्थमा लागेका छन् ।‘ बजेट जति आफ्नै पालिका र क्षेत्रमा खन्याएका छन् ’ दलको बैठकमा यादवले आक्रोश व्यक्तगर्दै भने, जति भनेपनि सुध्रिनु भएन । अब राजीनामा गर्नुस् ।’

मुख्यमन्त्री र मन्त्रीहरु क्षेत्रमुखी भएकाले प्रभावकारी काम हुन नसकेको भन्दै बैठकमा सहभागि अधिकांश सभासदहरुले आलोचना गरेको सहभागिहरुले बताए ।सरकारमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री रहेका सरोज सिंह कुशवाहालेपनि सरकारको आलोचना गरे ।सरकारको आलोचनागर्नेहरुमा करिमा बेगम, पारस साह, सञ्चमाया मोक्तान अगाडी थिए ।
एउटै दलमा रहेरपनि विपक्षी भन्दा समेत खराब व्यवहार सरकारले गरेको पीडा सुनाए ।सरकारमा रहेको अनुभूती समेत गर्न नपाएको उनीहरुको गुनासो थियो ।

सरकारले काम गर्न नसकेकाले बैकल्पिक बाटो खुल्ला गरिदिन भनेको जनाउँदै सभासद यादवले भने, सदनदेखि दलको बैठक सम्म कुरा उठाउँदापनि सुनवाइ भएन् ।

प्रदेश २ मा समाजवादी पार्टीबाट मुख्यमन्त्री राउत, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह र आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव रहेका छन् ।

समाजवादी पार्टीबाट भन्दापनि बढी असन्तुष्टि सत्तासाझेदार राष्ट्रिय जनता पार्टी(राजपा)मा छ ।राजपाका सभासद जयनुल राइनले आफूहरुले दिएको योजना बजेटमा नपरेको तर आफ्नै क्षेत्रमा कताबाट योजना आयो थाहा समेत नभएको बताए ।
‘सरकारका मन्त्रीहरु आप्mना क्षेत्रबाहेक पार्टीकै सभासदहरुलाई चिन्हेको छैन्’ उनले भने, मेरै क्षेत्रमा मैले दिएको योजनाहरु एउटै परेको छैन्, तर कसको कथनमा योजनाहरु दिएको हो, त्यो थाहा भएन् ।मन्त्रीहरुले माग सम्बोधन नगरे १÷२ दिनमै स्थिति खराब हुनसक्छ ।

असन्तुष्ट सभासदहरुलाई फकाउन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको आवासमा आइतवार बिहान बैठक राखिएकोछ ।सोनल, समाजिक विकास मन्त्री नवलकिसोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश यादव राजपाको तर्फबाट सरकारमा छन् ।तर उनीहरुले सो दलका सभासदहरुलाई पूर्ण उपेक्षा गरेको आरोप लाग्दै आएकोछ ।
समाजवादी पार्टी र राजपा मिलेर गठन भएको जनता समाजवादी पार्टी(जसपा) निर्वाचन आयोगमा दर्ता भइसकेपनि प्रदेशमा संसदीय दल फरक फरक नै रहेकोछ ।दुवै दलको संयुक्त बैठकमा सरकारका मन्त्रीहरुलाई राजिनामा दिन चर्को दवाव उठ्ने निश्चित रहेकोछ ।

सत्तारुढ दलको प्रदेश सभामा समान्य बहुमत रहेको छ ।गत वर्षको बक्यौता भुक्तानी दिन बजेटमा समावेश नगरिएको भए नीति तथा कार्यक्रम नै असफल गराएर सरकार खसाउने पूर्ण तयारी सत्तारुढ दलका सभासद र केहि मन्त्रीहरु समेतले गरेका थिए ।

प्रदेश सभामा १सय ७ सभासद छन् ।त्यस मध्ये सरकारको पक्षमा ५५ जना छन् ।२ जना मात्रै बिरामी भए सरकार कुनै बेला खस्न सक्ने जोखिममा छ ।

तर मुख्यमन्त्री र मन्त्रीहरुले आफ्नै दलका सभासदहरुलाई उपेक्षागर्दै योजना बाँडफाँडगर्दै आएका छन् ।‘भीरबाट लड्न लागेको गोरुलाई रामराम भन्न सकिन्छ’ सभासद राइनले भने, अब काँध थाप्न सक्ने अवस्था छैन् ।दुई पार्टी मिलिसकेपनि मन्त्रीहरुले आफ्नै दलका सभासदहरुको समस्यालाई सम्बोधन गर्न नसकेकाले सदनमा समेत सतापक्ष बिरोधी भन्दा कडा रुपमा प्रस्तुत भइरहेको राइनले जनाए ।

Comment


Related News

Latest News

Trending News