अपडेट 
२०७७ श्रावण २, शुक्रबार १०:३१

आउँदो हप्ता मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।आजदेखि पानी पर्ने क्रम विस्तारै बढ्ने मौसमविदको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर पर्सि आइतबार बेलुकीदेखि मनसुन सक्रिय हुन लागेकाले देशभरी नै झरी पर्ने र थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी र विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।

महाशाखाकी प्रवक्ता वरिष्ठ मौसमविद् डाक्टर अर्चना श्रेष्ठका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्र्रदेश तथा प्रदेश ५ का केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो र एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना छ ।

विशेषगरी पर्सि बेलुकीदेखि आउँदो बुधबारसम्म मनसुन निकै सक्रिय हुने देखिएको अर्का मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसकै प्रभावले सोमबारदेखि बुधबारसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदी, कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा बाढी आउने सम्भावना छ ।

प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका मध्य पहाडी, चुरे र तराईबाट बहने नदीमा एक्कासी बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दा विशेष सतर्क हुनुपर्नेछ । यस्तै सोमबारदेखि बिहीबारसम्म प्रदेश १ र २ तथा वाग्मती र गण्डकी प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बुढीगण्डकी, मस्र्याङ्दी कालीगण्डकी तथा तिनका सहायक नदीमा बाढीको उच्च जोखिम छ ।

यी ठाउँमा आउँदो शुक्रबारसम्म नै बाढी र पहिरोको जोखिम भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसमविद्को सुझाव छ । मौसमविद् श्रेष्ठका अनुसार आजदेखि पानी पर्ने क्रम विस्तारै बढ्नेछ । मनसुन सक्रिय हुँदै गएकाले हिजोको भन्दा आज दिउँसो, दिउँसोको भन्दा राती पानी पर्ने क्रम बढ्दै जाने उहाँको भनाई छ ।

विशेषगरी प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने उहाँले जानकारी दिनुभयो । मौसम सम्बन्धी केही जानकारी लिन महाशाखाको फोन नम्बर ०१ -४११३१९१ मा र बाढीबारे जानकारी लिन ११५५ मा फोन गर्न सकिनेछ

Comment


Related News

Latest News

Trending News